हे छोरा तिम्रो चिन्ताले चितामै लान्छ कि

तिमी आउनु पहिले मेरो प्राणै जान्छ कि

घरबारी राखी बन्धकी, परदेशमै बित्यो जिन्दगी

बाँचे सास आउँछ, मेरे लास आउँछ

स्वीकार्नु आमा, नरुनु आमा

अञ्जु पन्त र प्रताप दासको स्वरमा शुक्रबार सार्वजनिक भएको गीत ‘आमा-२’ का शब्द हुन् यी । सुदन खत्रीको शब्द रचना, रोशन सिंहको संगीत र विशाल निरौलाको एरेन्ज रहेको गीतले वैदेशिक रोजगारीमा रहेको छोरा र गाउँमा रहेकी आमाको कथा भन्छ ।

ऋण गरेर कमाउन गएको छोराले विदेशी मुलुकमा भोग्नुपरेको मानसिक र शारीरिक पीडा अनि गाउँमा रहेकी आमाले भोग्नुपर्ने साहुको अत्याचारलाई गीतको भिडियोमा मार्मिक ढंगले उनिएको छ ।

राहुल बराइलीले निर्देशन गरेको भिडियोमा रश्मी भट्ट, जिम्बे राई र मदन थापाले अभिनय गरेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन, मिलन विश्वकर्माको रंग संयोजन र पदम सुवेदीको सम्पादन छ । गीतलाई शुक्रबार काठमाडौंमा एक समारोह गरी सार्वजनिक गरियो ।

 

यो टिमले करिब एक वर्षअघि ‘आमा’ गीत ल्याएको थियो ।