भन्सार जाँच पासका लागि पहिलो पटक १० वटा गाडी चोभार सुख्खा बन्दरगाहा आइपुगे
काठमाडौं, २० असार ।
चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि पहिलो पटक सवारी साधान आइपुगेका छन् । बन्दरगाह सञ्चालनमा आएको २७ महिनापछि गत आइतबार एक व्यावसायिक समूहले चोभारबाट भन्सार जाँचपास गर्नेगरी सवारी साधन काठमाडौं ल्याएको हो ।
इन्टरमोडल यातायात विकास समितिकाअनुसार १० वटा सिट्रोन गाडी विद्युतीय कार भन्सार जाँच पासका लागि चोभार आइपुगेका हुन् । फ्रेन्च कम्पनीको उक्त गाडी गोल्छा समूहले काठमाडौं ल्याएको हो ।
बन्दरगाह व्यवस्थापन गरिरहेको विकास समितिकाअनुसार वीरगञ्जमा भन्दा सस्तो मूल्यमा भन्सार यार्ड उपलब्ध गराएका कारण यी सवारी साधान काठमाडौं ल्याइएको हो । कम्पनीले ३४ वटा गाडी काठमाडौं ल्याउने जानकारी विकास समितिलाई गराएको छ ।
वीरगञ्जमा भन्सार यार्डमा गाडी पार्क गर्दा प्रतिदिन ५ सय शुल्क लाग्ने गर्दछ । काठमाडौंमा प्रतिदिन ३ सय रुपैयाँ सस्तोमा गाडी पार्किङ गराउन सकिने भएकाले गाडी व्यवसायीका लागि चोभार राम्रो भन्सार विन्दु भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।
‘अहिले वीरगञ्जमा ५ सय भन्द्या धेरै गाडी पार्किङमा छन् । ती गाडीलाई पनि काठमाडौं ल्याए हुन्छ,’ गजुरेलले भने, ‘हामीले नाडालाई पनि यो कुरा भनेका छौं, काठमाडौंबाट गाडीको भन्सार जाँच पास सजिलो पनि र सुरक्षित पनि हुन्छ ।’
गोल्छा समूहले भित्र्याएको गाडीका कारण चोभारसम्म गाडी ल्याउन सकिन्छ र चोभार बन्दरगाह चल्छ भन्ने पुष्टि भएको गजुरेलको दाबी छ ।
२२ चैत २०७८ मा चोभार बन्दरगाह सञ्चालनमा आएको थियो । चालु आर्थिक वर्षको ११ महिनामा चोभार बन्दरगाह भएर ५८ करोड ८० लाख ४२ हजार रुपैयाँको माल वस्तु आयात भएको छ ।
यस्तै एक करोड ४४ लाख २८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । आयातमा चोभारको हिस्सा ०.०४ प्रतिशत छ भने निर्यातमा ०.०१ प्रतिशत हिस्सा ओगट्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















