चन्द्राैटा(कपिलवस्तु), २० असार ।

बुद्धभुमि नगरपालिकामा भएका गलत अभ्यासलाई सुधार गर्न एमालेले नगरप्रमुख केशव कुमार श्रेष्ठलाई ज्ञापन पत्र पेश गरिएको छ । एमाले बुद्धभुमि नगर कमिटिले मंगलबार नगरप्रमुख श्रेष्ठलाई नगरपालिकामा सुशासन, सदाचार, पारदर्शिता कायम राख्न आग्रह गरेको छ ।

ज्ञापन पत्र पेश गर्दै एमाले बुद्धभूमि नगर अध्यक्ष ध्रुव प्रसाद न्यौपानेले नगरपालिकाले कार्यकर्ता पाल्ने काम पुन: गरेकाे पाइए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

पालिकाले कुनै कमजोरी गरेको भए त्यसको सुधार गरिने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले बताए । ज्ञापन पत्र अनुसार नगरपालिकाले कृषि उपकरण बितरण गर्दा किसान भन्दा मेयर निकटका कार्यकर्ता टाठाबाठा सुकिलामुकिलाको हातमा पुगेको जनाइएको छ । केन्द्र तथा अगैया लगायतका नदिनालाको संरक्षण गर्नु पर्नेमा मापदण्ड बिपरित र तोकिएको परिमाणभन्दा बढी नदी दोहन हुदा नगरपालिकाबाट कुनै निगरानी नभएको र मुकदर्शक बनेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

योजनाको उपभोक्ता समिति गठन गर्दा आफु अनुकुल राख्ने र कमसल र गुणस्तरहिन काम हुँदा पालिका गैर जिम्मेवार भएको एमाले बुद्धभूमि नगर इन्चार्ज देवी बेल्वासेले जनाए । चुनावको समयमा भुमिहिन जनतालाई हस्ताक्षर विनाको अस्थायी निस्सा दिने तर त्यसपछि हाल सम्म प्रक्रिया अगाडि नबढाएकोप्रति गम्भिर आपत्ति जनाइएको छ ।

मिलेमतोमा ठेक्का दिएको वडा नम्बर-४ स्थित बुड्ढी दिउरी तालको ठेक्का तत्काल बदर गरी पुन: राष्ट्रिय दैनिक तथा लुम्बिनी प्रदेश स्तरका पत्र पत्रिकाबाट व्यापक प्रचार प्रसार गरी स्थानिय किसानलाई सिँचाई सुनिश्चता हुने गरी ठेक्का प्रक्रिया मार्फत ठेक्का दिन आग्रह गरिएको छ ।

जनताको आधारभूत आवश्यकता पूरा गर्न सुरक्षित आवास कार्यक्रममा प्रदेश र नगरको लगानीबाट खरिद गरि बितरण हुने जस्तापाता र हेण्डपाइपमा लगायत आ-आफ्ना नेता, कार्यकर्ताको सिफारिसमा पार्टी समर्थित कार्यक्रतालाईमात्रै छानिछानी वितरण गर्ने गरेको नगर प्रमख श्रेष्ठलाई आरोप लागेकाे छ ।