काठमाडौं, १८ असार ।

निजी क्षेत्रको हकहितका लागि दुवै पक्षबीच सहकार्य गरेर अघि बढ्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच सहमत भएका छन् ।

परिसंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार बधाई एवम् शुभकामना दिन महासंघले आयोजना गरेको कार्यक्रममा दुवैपक्षबीच यस्तो सहमति भएको हो ।

निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि दुवै संस्था एकआपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा महासंघले जोड दिएको थियो ।कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिंदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताए ।

‘हामीले विगतमा पनि सहकार्य गरेर सुखद् नतिजा ल्याउन सफल भएका थियौं र अब पनि यसलाई निरन्तरता दिनुपर्छ,’ भेटमा अध्यक्ष ढकालले भने ।

महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्स विहीबार संयुक्त रुपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले सकारात्मक सन्देश दिने ढकालले बताए ।

यसैगरी परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरु बीच पनि सहकार्य आवश्यक रहेकोमा जोड दिए । ९ असारमा अग्रवालको अध्यक्षतामा परिसंघको नयाँ कार्यसमिति चयन भएको थियो ।