व्यापक हिमपात र आँधीले अमेरिकी जनजीवन अस्तव्यस्त
एजेन्सी
शिशिर यामको उत्तरार्धमा परेको हिउँ र शक्तिशाली आँधीका कारण एरिजोनादेखि वायोमिङसम्मको जनजीवन अस्तव्यस्त भएको छ।
उडानहरू रद्द भएका छन् भने राजमार्ग बन्द भएका छन्। विद्युत्विहीन आवासमा प्रकाश र न्यानो नहुँदा लाखौँ अमेरिकीको जीवन कष्टकर बनेको छ। प्रतिकूल मौसमका कारण राजमार्ग बन्द हुँदा गाडीमै मानिस फसेका छन्।
सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन सञ्चालन नगर्न अधिकारीले चेतावनी दिएका छन्। दशकौँपछि दक्षिणी क्यालिफोर्नियाको अवस्था अझ खराब भएको छ। परिस्थिति सामान्य हुन अझै केही दिन लाग्ने उनीहरूले बताएका छन्।
लगातारको हिमपात र आँधीका कारण विद्यालय, कार्यालयमात्र होइन सदन पनि बन्द भएका छन्। आज मिनेसोटा विधायिका पनि बन्द रह्यो। यात्रामा निस्केकाहरू उडान नहुँदा विमानस्थलमा अलपत्र परेका छन्। मौसम अनुकूल नहुँदा १ हजार ६ सयभन्दा बढी उडान रद्द भएका छन्। मिनियापोलिस–सेन्टबाट आउने र जाने चार सय उडानमा विलम्ब वा पुनर्तालिका गर्नुपरेको छ भने देशभरि पाँच हजारभन्दा बढी उडानमा ढिलाइ भएको छ।
डेनभर अन्तरराष्ट्रिय विमानस्थलमा पनि आज दुई घण्टाभन्दा बढी समय उडानमा विलम्ब भएको थियो। वायोमिङमा उद्धारकर्ताहरू सवारीसाधनमा फसेका मानिससम्म पुग्न अथक प्रयास गरिरहेका छन् तर शक्तिशाली आँधी र अविरल हिमपातले उद्धार गर्न नसकिएको राजमार्ग गस्तीमा खटिएका सुरक्षा अधिकारीले बताएका छन्।
वायोमिङको यातायात विभागले सामाजिक सञ्जालमा चेतावनीका सन्देश जारी गर्दै राज्यको दक्षिणी भागका अधिकांश सडक ठप्प भएकाले यात्रामा ननिस्कन सुझाएको छ। शक्तिशाली आँधीले क्यालिफोर्नियामा सबैभन्दा ठूलो क्षति भएको छ।
जताजतै रूख ढलेका छन् भने विद्युत् आपूर्तिका लाइनमा पनि क्षति भएको छ। राज्यका ६५ हजारभन्दा बढी ग्राहक बिजुलीविहीन भएका छन्। सन् १९८९ पछि पहिलोपटक लस एन्जलस, भेन्चुरा र शान्ता बरबरा काउन्टीका पहाडमा बिहीबार बिहान चार बजेदेखि हिमपातको चेतावनी जारी गरिएको छ।
यो सप्ताहान्तमा व्यापक हिमपात हुने मौसमविद्ले बताएका छन्। मध्य एरिजोनादेखि न्यूमेक्सिकोसम्मको अवस्था पनि उस्तै छ। मिनेसोटा र विस्कान्सिनमा हिमपातसँगै वर्षा हुने राष्ट्रिय मौसम विज्ञान विभागले जनाएको छ। हिमपात र आँधीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने चेतावनी पनि सम्बद्ध निकायका अधिकारीले दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























