धनुषा : मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनेर चिनिने २४ वर्षीय ओमप्रकाश महतोको हत्यामा संलग्न तीनजनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।

बुधबार जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले घटनामा संलग्न विपीन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतोलाई दोषी ठहर गरेको हो। हत्यामा संलग्न रहेको आरोप लागेका अन्य चार जनालाई सफाइ दिइएको अदालतका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।

घटनामा संलग्न रहेको दाबी प्रमाण नपुगेपछि उनीहरूलाई सफाइ दिइएको बस्नेतले बताए। उनका अनुसार दोषी ठहर भएकालाई फागुन १२ गते सजाय सुनाइनेछ। २०७६ पुस २५ मा खोलाको अवैध उत्खनन रोक्न गएका दिलीपलाई कोखामा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्ममतापूर्वक हत्या गरिएको थियो।

दिलीपको हत्यापश्चात् एक महिनाको अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। क्रसर उद्योग सञ्चालक विपीनलगायतले उनलाई फलामको लिभर र पेचकसले क्रुरतापूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको थियो। ​अभियोगपत्रमा दिलीपलाई यातना दिई क्रुरतापूर्वक हत्या गरेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको छ।

दिलीपका बुबा रामजीवनले मनसायपूर्वक हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपीनकुमार महतो, उनका दाई विनोदकुमार महतो र उद्योगमा कार्यरत मुनीन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध मुद्दा दायर गरेका थिए।

उद्योग सञ्चालक विपीन तथा कर्मचारी मुनीन्द्र र जितेन्द्र यसअघि नै जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको आदेशमा मुद्दाको फैसला नहोउञ्जेलसम्म पूर्पक्षका लागि कारागारमा छन्। विनोद, रोशन, सत्यनारायण र शत्रुधनले भने मुद्दामा सफाइ पाएका छन्। चारजना यसअघि नै धरौटीमा छुटिसकेका थिए ।