सरकारी राजस्व वृद्धिदर ५५ वर्षयताकै कमजोर
काठमाडौं : सरकारले चालू आर्थिक वर्ष २०७९र८० का लागि राजस्व संकलनमा राखेको लक्ष्यको वृद्धिदर साढे पाँच दशकयताकै न्यून देखिएको छ।
चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा राखेको वृद्धिदर आर्थिक वर्ष २०२४/२५ कै न्यून रहेको बताए।
‘अहिले हामी स्रोत परिचालन र खर्च व्यवस्थापन दुवै दृष्टिकोणले अत्यन्तै ठूलो चापमा छौँ। राजस्व संकलनमा देखिएको यस्तो नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४/२५ पछि पहिलोपटक हुन पुगेको छ। निर्ममतापूर्वक हाम्रासामु प्रस्तुत भएको यो वास्तविकतालाई हामीले स्वीकार गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, अर्थमन्त्री पौडेलले भने।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म सरकारले छ खर्ब ५१ अर्ब ६२ करोड बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यको तुलनामा २४ दशमलव आठ प्रतिशतले कम अर्थात् चार खर्ब ९० अर्ब चार करोड बराबर मात्रै राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको समीक्षा अवधिमा राजस्व संकलन १५ प्रतिशतले घटेको छ।
राजस्व सङ्कलन र बजेट खर्चमा चाप देखिएको मात्र नभई सरकारी सञ्चित कोष ऋणात्मक हुँदै जानु पनि चिन्ताको विषय रहेको अर्थमन्त्री पौडेलले बताए। अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक वर्षका लागि बजेट खर्च, राजस्व वृद्धिदर, अन्तर्राष्ट्रिय सहायतालगायतका क्षेत्रमा सुरुको लक्ष्यमा संशोधन गरिएको छ।
त्यस्तै चालू आर्थिक वर्षका लागि बजेटमार्फत राखिएको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन नसक्ने पनि अर्थमन्त्री पौडेलले स्वीकार गरे।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















