बागलुङ : जिल्लामा सम्बन्धविच्छेद गर्नेको संख्या अप्रत्यासित रूपमा बढेको छ। विवाह भएको वर्ष दिन पुगेकादेखि एक दशकभन्दा बढी सहयात्रा गरेकाहरूले पनि सम्बन्धविच्छेद गरेका छन्। जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको हालसम्म १६० जोडीले सम्बन्धविच्छेद गरेका छन्।
गत आर्थिक वर्षमा २४१ सम्बन्ध विच्छेद भएकोमा चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म १६० वटा सम्बन्धविच्छेद भएको जिल्ला अदालत बागलुङको तथ्यांकमा देखिन्छ। यो अवधिमा सबैभन्दा बढी कात्तिक महिनामा ३१ जोडीले सम्बन्धविच्छेद गरेका छन्।
साउन, भदौ र असोजमा २३/२३, मंसिरमा २१, पुसमा २४ र माघ तेस्रो सातासम्म १५ जोडLले सम्बन्धविच्छेद गरेका छन् । यो तथ्यांकअनुसार अघिल लो वर्लाषको तुलनामा यो वर्ष सम्बन्धविच्छेद निकै बढी देखिएको छ।
सम्बन्धविच्छेदको मुख्य कारण वैदेशिक रोजगार भएको अधिवक्ता राम शर्माले बताए। वैदेशिक रोजगारका लागि विदेश गएका युवा घरमा आएर पैसाको हिसाबकिताब खोज्दा सम्बन्धविच्छेदसम्मको अवस्था निम्तिने गरेको शर्मा बताउँछन्। घरेलु हिंसा बढ्दै जाँदा सम्बन्धविच्छेद बढेको उनले बताए।
‘अहिले श्रीमान् विदेश गएका श्रीमती बालबच्चा लिएर बजारमा बस्ने, अनावश्यक खर्च गर्ने फेसन जस्तो बनेको छ’, उनले भने, ‘विदेशमा रगत पसिना बगाएर घर फर्किँदा श्रीमतीले सही हिसाबकिताब बुझाउन नसक्दा सम्बन्ध तोडिने मोडमा पुग्छ, त्यसले गर्दा विवाह भएको वर्षौँपछि पनि यहाँ सम्बन्ध विच्छेद भएका छन्।’
अन्तरजातीय तथा बहुविवाहको कारण पनि सम्बन्ध विच्छद हुने गरेको छ। विदेशमा गएपछि परपुरुष वा स्त्रीसँग लागेको वा शारीरिक–मानसिक यातना दिएको भन्दै सम्बन्धविच्छेदका लागि पुग्ने गरेका छन्। वैदेशिक रोजगारीमा गएका पुरुष उतै अर्को विवाह गरेर पहिलो श्रीमतीलाई सम्बन्धविच्छेद गर्न दबाब दिएका घटना पनि सार्वजनिक भइरहेको शर्मा बताउँछन्।
अधिवक्ता गीता श्रीषले वैदेशिक रोजगारसँगै बालविवाह पनि सम्बन्धविच्छेदको कारण रहेको बताइन्। सानै उमेरमा विवाह गर्ने र उमेर पुगेपछि अर्को पुरुष वा महिलासँग आकर्षित हुँदै गएपछि सम्बन्धविच्छेद हुने गरेको छ। पहिले सम्बन्धविच्छेद भएपछि विवाह गर्न समस्या हुँदा हिंसा सहेर पनि बस्ने गरेको तर अहिले मानिस सचेत बन्दै गएपछि कसैको हिंसामा परेर नबस्ने उनी बताउँछन्।
‘पहिलेको तुलनामा अहिले सम्बन्धविच्छेद निकै बढ्दो छ, बागलुङमा खुख्य त वैदेशिक रोजगार, बाल विवाहका कारण अलि बढी सम्बन्धविच्छेद हुने गरेको देखिएको छ’, उनले भनिन्, ‘पहिले सम्बन्धविच्छेद गरेपछि विवाह गर्न समस्या हुन्छ भन्ने थियो, तर अहिले त्यो गौण बनेको छ।’
जिल्ला अदालत बागलुङका इजालस अधिकृत गंगाधर सापकोटाले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पनि सम्बन्धविच्छेद हुने गरेको बताए। सामाजिक सञ्जाल मार्फत अरु व्यक्तिसँगको सम्पर्कले गर्दा श्रीमान–श्रीमती बीच झगडा हुने र सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको बताए।
सापकोटाले पछिल्लो समय नागरिक सचेत बन्दै गएको हुँदा अभाव, प्रभाव र दवाबमा सहन नसक्ने हुँदा सम्बन्धविच्छेद हुने गरेको बताए। ‘अहिले जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न आउनेको संख्या बढ्दो छ। मानिस सचेत बन्दै गए, पहिलेजस्तो हिंसा सहन छाडे। त्यसले गर्दा सम्बन्धविच्छेद गर्ने गरेको पाएका छौँ।’