पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो
एजेन्सी
फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको चिहानघारीमा समाधिस्थ गरिएको छ। नवनिर्वाचित राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जलि अर्पण गरे। साङ्गीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन ‘क्याथोलिक’ प्रार्थना गरिएको शवयात्रामा हजारौँ सहभागी थिए।
सुनले बेरिएको ‘कास्केट’ आइपुग्नुअघि कब्रिस्तानमा उपस्थित अपार जनसागरले पेलेलाई मन पर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए।
पेलेको ८२ वर्षको उमेरमा गत हप्ता मृत्यु भएको हो। उनको शव सान्तोसमा राखिएको थियो। यहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए।
पेलेको अन्तिम संस्कार वा शवयात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायत उपस्थित नभएको भन्दै पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























