दुई पटक प्रधानमन्त्री भएका रुड राजदूतमा नियुक्त
एजेन्सी : अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि नयाँ राजदूत नियुक्त भएका छन्।
रुड २००७ र २०१३ मा गरी दुईपटक अस्ट्रेलियाका प्रधानमन्त्री भइसकेका छन्। रुडले २०१० देखि २०१२ सम्म विदेशमन्त्रीको पदभारसमेत सम्हालेका थिए।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले राजदूतका रुपमा रुडले अद्वितीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
केभिन रुड अभूतपूर्व व्यक्ति हुन्, प्रधानमन्त्री र विदेशमन्त्रीको कार्यभार सम्हालिसकेका रुडले राजदूतका रुपमा नियुक्ति स्वीकार गरेर अस्ट्रेलियालाई ठूलो गुन लगाएको प्रधानमन्त्री अल्बानिजले बताएका छन्।
वर्तमान राजदूत आर्थर सिनोडिनोसलाई प्रतिस्थापन गर्दै रुडले आगामी वर्षको सुरुमा आफनो कार्यभार सम्हाल्नेछन्।
विश्व शक्तिका रुपमा उदाइरहेको चीनको सामना गर्न दुवै देशले पारस्परिक सुरक्षा सहयोगका गहन बनाइरहेका बेला चीन मामिलाका विज्ञ रुडले अमेरिकाका लागि राजदूतको जिम्मेवारी सम्हाल्न लागेका हुन्। रुडले राजदूतका रुपमा आफूलाई नियुक्त गरिएकामा सम्मानित महसुस गरेको बताएका छन्।
न्युयोर्कस्थित अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी संस्था द एसिया सोसाइटीका प्रमुखसमेत रहेका रुडले २०१३ मा राजनीतिबाट संन्यास लिएयता अधिकांश समय अमेरिकामा बिताउँदै आएका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















