नेपाल-पाकिस्तान मैत्रीपूर्ण फुटबल : अञ्जनको एकमात्र गोलमा नेपालको १-० ले जित
काठमाडौं : घरेलु टोली नेपालले पाकिस्तानविरुद्ध आज खेलेको मैत्रीपूर्ण खेलमा १-० बाट विजयी भएको छ।
राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अञ्जन विष्टको एकमात्र गोलको सहायताबाट पाकिस्तानलाई पराजित गरेको हो।
अञ्जनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे। उनले सुनिल बलको पासमा गोल गरे। तर उनले जर्सी नै खोलेर गोलको गरेको खुशीयाली मनाएपछि पहेँलो कार्ड पनि खाए।
अञ्जनले गएको असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक नै गरेका थिए ।
अञ्जनले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका हरि खड्काको कीर्तिमानसँग बराबरी गरेका छन्। हरिले ११ गोल गरेका थिए भने आजको गोलसँगै अञ्जनले पनि नेपालका लागि गरेको गोल संख्या ११ नै पुर्याएका छन्।
नेपालका लागि सर्वाधिक गोल निराजन रायमाझीले गरेका छन्। उनले अन्तरराष्ट्रिय खेलमा नेपालका लागि १३ गोल गरेका छन्।
आजको खेल रोहित चन्दको पनि कप्तानी डेब्यू थियो। उनले कप्तानका रुपमा पहिलो खेलमा नै जित हासिल गरेका छन्।
आजको खेलबाट मिडफिल्डर आभास लामिछानेले राष्ट्रिय टिममा डेब्यू गरेका छन्। उनले खेलको ५८औँ मिनेटमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यू गरे। स्पेनमा फुटबल खेल्ने उनी आजको खेलका लागि नेपाल आएका हुन्। उनी सशस्त्र प्रहरीको फुटबल क्लबमा आबद्ध छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















