फिलिपिन्समा आँधीले पुर्याएको क्षतिप्रति चिनियाँ राष्ट्रपति सीद्वारा दुःख व्यक्त
एजेन्सी
चीनका राष्ट्रपति सी जिनपिङले फिलिपिन्समा आएको आँधीका कारण भएको मानवीय एवम् भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई सन्देश पठाउँदै उहाँले दुःख व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति सीले उष्ण कटिबन्धीय आँधीबाट भएको क्षतिले आफू स्तब्ध भएको र चिनियाँ सरकार तथा नागरिकको तर्फबाट दुःख व्यक्त गरेको बताउनुभएको छ । साथै उहाँले विपद्लाई पार लगाउन र पुनर्निर्माणका काममा पनि चिनियाँ पक्षले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता छन् ।
हिजो आएको पाएङ नामको आँधीबाट मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अति प्रभावित भएका छन् । आँधीले ३९ लाख नागरिक प्रभावित भएका छन् भने ४ सय ९९ सडकमा क्षति पुगेको छ । त्यसैगरी १ सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् ।
आँधीका कारण राजधानी मनिलासहित १७ क्षेत्रका ३१ हजार ९ सय ४२ गाउँका १८ लाख १२ हजार ७ सय ४० जना नराम्ररी प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । आँधीसँगैको बाढीका कारण कम्तीमा १ लाख १३ हजार ४ सय ८ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ । त्यहाँ ११ हजार ७ सय ६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















