विद्यार्थीकाे पठनपाठन मन्दिरकाे बरण्डा
कपिलवस्तु,
कपिलवस्तुको कृष्णनगर नगरपालिका-६, श्रीनगरमा सञ्चालित वेद विद्या प्राथमिक विद्यालय एक धार्मिक विद्यालय हाे । विद्यालयमा दुई काेठे भवन लगायत संरचना निर्माण गरिएको छ । भवन जीर्ण अवस्थामा हुँदा जुनसुकै बेला भत्किन सक्ने अवस्थामा छ । छत र भित्तामा प्लस्टरसमेत गरिएको छैन । डेस्क र बेन्चमा विद्यार्थीले राम्रोसँग बस्न नसक्ने दयनीय अवस्था छ ।
भवन पाेखरीकाे छेउमा निर्माण गरिएकोले पाेखरी छेउतिरकाे भाग अविरल वर्षको पानीले कटान हुँदा भित्ता नै ढलेकाे छ । विद्यार्थी विद्यालय पुग्ने बाटाेसमेत छैन । त्यस्तै तीन सीटकाे शाैचालय निर्माण गरिएपनि धारा नहुँदा शाैचालय प्रयाेग विहीन ताल्चा लगाइएको छ । विद्यालय वरिपरि तारबार गरिए पनि अहिले सबै ढलेका छन् ।

शैक्षिक पठनपाठनमा अध्ययन गराउने अवस्था नभएपछि विद्यालय व्यवस्थापन समितिले विद्यार्थीलाई एक मन्दिरमा अध्ययन कार्यलाई निरन्तरता दिँदै आएकाे छ । त्यही नजिकै २ सय मिटर दुरीमा अवस्थित राम जानकी मन्दिरकाे प्राङ्गण, बरण्डा र पिपलकाे रुख मुनि विद्यार्थीले अध्ययन गर्न बाध्य भएका छन् । त्यहाँ पनि अहिले अविरल वर्षातले विद्यार्थीले अध्ययन गर्न नसकिने अवस्था छ । विद्यालयमा कार्यरत शिक्षकका अनुसार २०७४ सालमा विद्यालय स्थापना भएकाे हाे । विद्यालयमा हाल २ शिक्षक कार्यरत र ७४ जना बालबालिका अध्ययन गर्दै आएका छन् ।
स्राेतका अनुसार राजनीतिक तालमेल नमिलेका कारण उक्त विद्यालय व्यवस्थित हुन नसकेकाे हाे । नगर प्रमुख र वडा अध्यक्षबीच राजनैतिक विचार, समन्वय नमिल्दा नगरपालिकाले नयाँ भवन निर्माण नगरेकाे जनाइएको छ । स्थानीयले जनप्रतिनिधिहरुले विकासको नाममा विद्यालयलाई राजनैतिक अखाडा बनाउँदै विद्यार्थीकाे भविष्यमाथि खेलवाड गरेकाे आराेप समेत लगाए ।
स्थानीय सरकार आएकाे ५ वर्षे कार्यकाल पनि बित्याे पुनः अर्को स्थानीय निर्वाचन सम्पन्न भई छ महिना बित्नै लाग्याे तर नगरले चाँसाे नदिएकाे भन्दै दुख व्यक्त गरे । व्यवस्थापन समितिका एक सदस्यले भवन निर्माणका लागि नगरपालिकासँग पहल गर्दै आए पनि नगरले विद्यालयप्रति खासै ध्यान नदिएकाे गुनासो गरे । स्थानीयले यस धार्मिक विद्यालयमा छिट्टै भवन निर्माण लगायत आवश्यक शैक्षिक व्यवस्थापनकाे लागि नगरपालिकासँग मागसमेत गरे

त्यसैगरी स्थानीय राज कुमार मिश्रले भवन निर्माणपछि भवन, शाैचालय लगायत बाटाेघाटाेकाे समेत समस्या भएकाे जनाए । उनले भने “मेरै पहलमा दुई काेठे भवना निर्माण भयाे तर त्यसपछि अहिलेसम्म कहिँ कतैबाट बजेट परेकाे छैन् । धार्मिक विद्यालय भएर पछिल्लो समय विद्यालयप्रति कसैको चासाे छैन् ।”
उक्त विद्यालयका प्रधानाध्यापक वेदानन्द शुक्लाले भवन लगायत शैक्षिक व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल गरेकाे बताए । तर अझैसम्म कतैबाट कुनै व्यवस्थापन हुन नसकेको जनाउँदै नगरपालिकाले दिने गरेकाे अनुदानले शिक्षककाे तलब व्यवस्थापन गरेकाे बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सजिता नन्द शुक्लाले कपिलवस्तुकाे स्वर्गद्वारी आश्रम पछिकाे वेद विद्या प्रावि दाेस्राे धार्मिक विद्यालय रहेकाे बताउँदै नगरले व्यवस्थापनमा चासाे नदिएकाे गुनासाे गरे । पटकपटक सम्बन्धित निकायमा धाउँदा समेत सुनवाइ नभएकाे अध्यक्ष शुक्लाले जिकिर गरे ।
यतानगर पालिका शिक्षा शाखा प्रमुख बलराम पन्थीले नगरमा कुनै किसिमकाे मर्मत लगायत गुनासाे नआएकाे बताए । पछिल्लो बर्षले भट्किएकाे हुन सक्ने भएकाे बताउँदै प्रतिदिन अनुगमन गर्न संभव न रहेकाे जनाए । नगरका अधिकांश विद्यालय पाेखरीकाे छेउमा भएकाेले त्यस्ताे किसिमको समस्या आएकाे उनकाे भनाइ छ । उक्त धार्मिक विद्यालयमा संस्कृत लगायत सरकारले अनिवार्य गरेकाे बिषयमा २ कक्षा सम्म पठनपाठन अनुमति स्वीकृत गरिएको उनले जनाए ।
यस्तै नगर प्रमुख रजत प्रताप शाहले नगर हरेक तवरले सहयोग र विकास गर्न सकारात्मक रहेकाे बताए । लामाे समयदेखि एउटै व्यक्ति पदाधिकारी रहेकाे जनाउँदै नयाँ कार्य समिति गठन गरि उचित व्यवस्थापनका साथ अगाडि बढ्ने उनले दावी गरे । व्यवस्थापन समितिले माग गरे अनुसार बजेटले भ्याएसम्म बिस्तारै उक्त विद्यालयकाे संरचना लगायत आवश्यकता पूरा गर्ने प्रमुख शाहकाे भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















