च्याम्पियन्स लिग : लिभरपुलद्वारा रेन्जर्स ७–१ ले पराजित
एजेन्सी
इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ। समूह चरण अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई ७–१ गोल अन्तरले हराएको हो।
मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरेपछि लिभरपुलले पुनरागमन गर्दै फराकिलो जित निकालेको हो। खेलको १७ औँ मिनेटमा स्कट एरिफिल्डले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २४ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए।
५५ औँ मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए। ६६ औँ मिनेटमा डार्बिन नुनेजले गोल गर्दा लिभरपुल ३–१ ले अघि रह्यो। खेलको ७६, ८० र ८१ औं मिनेटमा गोल गर्दै सलाहले ह्याट्रिक पूरा गरे।
सलाहको ह्याट्रिकसँगै लिभरपुल ६–१ ले अघि रह्यो । त्यसपछि खेलको ८७ औँ मिनेटमा हार्भे इलिओटले गोल गर्दै लिभरपुललाई ७–१ को जित दिलाए। जितसँगै लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ।
समूह ए को लिभरपुल दोस्रो स्थानमा रहँदा रेन्जर्स अंकविहीन रहदै पुछारमा रहेको छ। लिगकै अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख भिक्टोरिया प्लेजेनलाई ४–२ गोल अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ।
बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्काले दुई गोल गरे। साडियो माने र थोमस मुलरले एक एक गोल गरे। भिक्टोरियाका लागि एडम र जान क्लिमेन्टले एक एक गोल गरे। यस जितसँगै समूह सी को बायर्नले ४ खेलमा १२ अंक जोडेको छ।
प्लेजेन अंक विहीन रहदै पुछारमा छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























