जुम्ला – लगातारको वर्षाले जुम्लामा गएकाे पाँच दिनदेखि खानेपानी, बिजुली, टेलिफाेन, इन्टरनेट लगायतका सेवा बन्द भएकाे छ ।

वर्षासँगै आएकाे बाढी र पहिराेका कारण चिमारामा खानेपानीकाे पाइप चुडिएकाे छ भने चट्याङका कारण नेपाल टेलिकमको जुम्ला सदरमुकामको मुख्य कार्यालयको ओडीयू सेट बिग्रिँदा टेलिफोन सेवा बन्द भएको छ । टेलिफोन बन्द हुँदा विपद्काे सूचना लिनसमेत कठिन भइरहेको छ ।

ओडीयू सेटमा क्षति पुगेसँगै टेलिकमको इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकम जुम्लाका निमित्त प्रमुख पदमराज महताराका अनुसार ओडीयू सेट काठमाण्डौबाट ल्याउने तयारी गरे पनि मौसम खराबीले जहाज आउन नसकेकाे बताउनुभयाे ।

यसैगरी वर्षाका कारण पाेलमा क्षति पुग्दा बिजुली सेवासमेत बन्द भएकाे छ । लगातारको वर्षाले कर्णाली राजमार्गको एक दर्जन बढी ठाउँमा सडक पनि बन्द भएकाे छ । जुम्ला खण्डको गाडगडेनीमा ठूलो पहिरो खस्दा पाँच दिनदेखि यातायात सेवा बन्द भएकाे हाे ।