दशैँ, तिहारको बेलामा पनि फुटपाथमा पसल राख्न नदिने महानगरको स्पष्टोक्ति
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले दशैँ, तिहारको बेलामा पनि फुटपाथमा पसल राख्न नदिने स्पष्ट पारेको छ । दशैँलाई लक्षित गरेर फुटपाथ व्यापारमा महानगर लचक भएको हल्ला फैलाइएकोप्रति ध्यानाकर्षण भएको भन्दै मेयर बालेन्द्र शाहले यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरासमेत स्पष्ट पार्नुभएको हो ।
फुटपाथ पैदलयात्रीका लागि मात्रै भएको नीति प्रभावकारीरूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको भन्दै मेयर शाहले पैदलयात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्ने बताउनुभयो । अन्य समयभन्दा यो बेला ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू किनमेलका घरबाहिर निस्कने समय भएकाले पैदलयात्रीकाे सुरक्षा महानगरपालिकाको जिम्मेवारी भएको महानगरले जनाएको छ ।
महानगरले अब कुनै पनि चाडपर्व वा समय विशेषमा फुटपाथमा पसल राख्न दिने भन्ने भ्रममा नपर्न पनि आग्रह गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने मेयर शाहले प्रतिबद्धता जनाउनुभएको छ ।




















