कपिलवस्तु, कपिलवस्तुको थराैली विद्यालयका विद्यार्थी जाेखमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । विजयनगर गाउँपालिका-१, थराैलीकाे आधारभूत विद्यालयका विद्यार्थी जाेखिम माेलेर विद्यालय आवतजावत गरेका छन् । नदी कटानले विद्यार्थी र विद्यालय दुवै जाेखिममा परेकाे छ । नदी कटानभन्दा करिब १ सय मिटरकाे दुरीमा रहेकाे विद्यालय जाेखिममय बन्दै गएको छ ।

अविरल बर्षातका कारणले पछिल्लो समय विद्यालय आवतजावत गर्ने बाटाे नदीले कटान गर्दा दैनिक सयौं विद्यार्थी जाेखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकाे स्थानीय केम माया राईले बताइन् । विद्यार्थीसँगै विद्यालय समेत संकटमा पर्ने निश्चित भएपछि उनले चिन्ता व्यक्त गरिन् ।

प्रधानाध्यापक तुल बहादुर सारुले भाैगाेलिक रुपले नदीकाे किनारमा रहेकाे जिकिर गरे । याे क्षेत्र दुर्गममा रहेकाे बताउँदै एउटा विद्यालयमा ४ सय ३३ विद्यार्थी विद्यालय अध्ययन गर्न आउने गरेकाे उनले जनाए। जसमध्ये १ सय ७० विद्यार्थी खाेला पारीबाट वारी विद्यालय आउने गरेकाे प्रधानाध्यापक सारुकाे भनाइ छ ।

उनले भने “बर्षातकाे बेला पारी बाट वारि विद्यालय आउन समस्या रहेकाे छ” । पटकपटक स्थानीय तहले तटबन्ध गरेकाे भए पनि नदी कटानले समस्या भएकाे उनले जनाए । तत्काल यसलाई ध्यान नदिए विद्यार्थी लगायत शिक्षक समेत जाेखिममा पर्न सक्ने बताउँदै सारुले थपे “अविरल बर्षातले विद्यालय आउने बाटाे नै भासिएकाे छ, वैकल्पिक बाटाे छैन्” ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्क बहादुर खन्गाहाले यसै गाउँपालिकाका वडा नम्बर १, ४, ५, ६ र ७ काे करिब १६ वटा गाउँका सयाैं विद्यार्थीहरु खाेलाकाे किनार तथा ढिकढिक भएर विद्यालय आउने बाध्यता हुने गरेकाे बताए । बर्षातकाे बेला खाेला बढेर आउँदा विद्यालय अनुपस्थित हुने गरेकाे जनाउँदै केही दिनदेखि भएकाे निरन्तर बर्षाले खाेलामा आएकाे बाढीले बाटाे कटान हुँदा दु:खद भएकाे उनले जनाए ।

खाेलाकाे किनारमा रहेकाे विद्यालयलाई सम्बन्धित निकायले समयमा ध्यान नदिए विद्यार्थीसँगै विद्यालय समेत नरहने अध्यक्ष खन्गाहाले चिन्तासमेत व्यक्त गरे । खन्गाहाले भने “पहिले स्थानीय सरकारले तटबन्ध गरेकाेले केही भाग सुरक्षित छ र पुन: निगरानी नगरे विद्यार्थीकाे भविष्य बिग्रिने छ” ।

यस्तै गाउँपालिका अध्यक्ष गाेपाल थापाले वडा नम्बर १ भएर बग्ने खाेला चिरइ खाेलाले लाेहरा‌ैला देखि वडा नम्बर ७ सम्म आइपुग्दा विभिन्न ठाउँमा क्षति गरेकाे बताए । साे क्षति स्थानीय तहकाे सिमित बजेटले अपुग हुने भएकाेले माथिल्लो निकायमा पहले गर्द‌ै आएकाे उनले दाबी गरे ।

संरक्षण गर्न अघिल्लो बर्ष राष्ट्रपति चुरे संरक्षण र जिल्ला सिँचाइ विभागमा समेत मर्मत सम्भारका लागि पटकपटक पहल गरिरहेकाे अध्यक्ष थापाले उल्लेख गरे । गाउँपालिकाकाे स्राेत साधनले भ्याएसम्म नदि कटान नियन्त्रण गर्ने उनकाे भनाइ छ ।