कृष्ण पौडेल, विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर १ मा रहेको आधारभूत विद्यालय थरौलीमा इन्टरनेटसहितको आइसीटी ल्याब उद्घाटन गरिएको छ । संविधान दिवसको अवसर पारेर ८ वटा कम्प्युटरसहितको ल्याब उद्घाटन भएको  विद्यालयले जनाएको छ ।

कम्प्युटर ल्यावको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ३ वर्षभित्र विजयनगरका सबै विद्यालयहरुमा सो ल्याब स्थापना गर्ने योजना रहेको बताए । अध्यक्ष थापाले सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा स्थानीय सरकार सचेत रहेको बताए । उनले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशनसमेत दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले ग्रामीण भेगका विद्यालयका विद्यार्थीहरुका लागि कम्प्युटर प्रविधिबाट पढाई सुरु गरिएको बताउँदै कम्प्युटर कक्षा अहिलेको अपरिहार्यता रहेको जिकिर गरिन् । उनले आगामी दिनमा शैक्षिक सुधारका लागि पालिकाले प्राथमिकताका साथ लाग्ने बताइन् ।

यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्क बाहदुर खन्गाहाले विद्यालयको ल्याब स्थापना गरेर शिक्षक तथा विद्यार्थीलाई कम्प्युटर शिक्षा पठन–पाठनमा सहज हुने बताए । विद्यालयले सम्पूर्ण विद्यार्थीहरुलाई पूर्ण रुपमा निःशुल्क प्रशिक्षण दिँदै आइरहेको खन्गाहाले बताए ।

विद्यालयका प्रधानाध्यापक तुल बहादुर सारुले ६ लाख ४१ हजार १ सय पच्चीस रुपैंयाको लागतमा आइसिटि ल्याबको व्यवस्थापन गरिएको बताए । यसैगरी विद्यालयले सामाजिक परिक्षण प्रतिवेदनमा ५९ लाख ७१ हजार लाख ६ सय २३ रुपैयाँको आयव्ययसमेत प्रस्तुत गरिएको सारुले जानकारी दिए ।