कृष्ण पौडेल विजयनगर।।
आदर्श युवा क्लब विजयनगरको आयोजना तथा इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालको सहयोगमा दुधाधारी माध्यमिक विधालय गुगौलिमा लागुपदार्थ दुर्व्यसनी तथा ओसारपसार सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै सहजकर्ता तथा इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक थानेश्वर पोख्रेलले लागुपदार्थ दुर्व्यसनी तथा ओसारपसार बढ्नुमा खुला सिमाना र अभिभावकहरुको हेलचेक्र्याइँ प्रमुख कारण रहेको बताएका थिए। पोख्रेलले तराई क्षेत्रमा लागुपदार्थ ओसारपसार र सेवनलाई नियन्त्रण गर्न सचेतना फैलाउन आवश्यक रहेको बताए। उनले भने, ‘खुला सिमानाका कारण लागुपदार्थको कारोबारमा वृद्धि भइरहेको छ। यसलाई नियन्त्रण गर्न स्थानिय सरकार, संघ-संस्था तथा सचेत नागरिकको ठूलो भुमिका रहन्छ ।’ उनले यसको नियन्त्रण तथा नियमनका लागि जनचेतनामुलक कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताए। ‘अधिकांश विद्यालयका किशोर–किशोरीहरु सेवनकर्ता बन्ने गरेको पाइएको छ। लागुपदार्थको हानी, कानुनमा भएको व्यवस्था लगायतका शिक्षा विद्यालय स्तरबाटै सुरु गर्नुपर्छ उनले भने किशोर–किशोरीहरु लागुपदार्थको सेवनकर्ता हुनुमा अभिभावकहरु पनि दोषी रहेका छन् । ‘बजारका अभिभावकहरु बढी व्यस्त भए। छोराछोरीहरु के गर्दैछन् भन्ने ख्याल नगर्दा उनीहरु कुलतको बाटोमा अघि बढिरहेका छन्,’ पोख्रेलले भने।

त्यस्तै कार्यक्रममा बोल्दै कालिका सामाजिक बिकास केन्द्रका संयोजक तथा कार्यक्रमका सहजकर्ता अर्जुन थापाले लागु औषधको कुलतमा फस्दा समाजमा विभिन्न किसिमका सरुवा रोगहरू जस्तै एचआईभी एड्स , मानसिक रोगहरू, शारीरिक दुर्वलता लगायतका रोग उल्लेखनीय मात्रामा बढेको बताएका थिए । लागुऔषधको लतमा किशोर किशोरीको बढ्दो संलग्नता, बहुऔषधिको प्रयोगमा वृद्धि, सुईको प्रयोगबाट विभिन्न किसिमका रोग, अपराधीक कृयाकलापको वृद्धि, बलात्कार जस्ता जघन्य अपराधले समस्यालाई जटिल बनाएको छ उनले भने । युवाहरू दुर्व्यसनमा फस्दा घरपरिवार , समाज र राष्ट्र समेत विकासमा पछाडि बताए साथै थापाले “लागुपदार्थको साटो स्वस्थ जीवनको बाटो” भन्दै हामी सबैले हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढेमा यसलाई शून्यमा झार्न सक्छौं। तसर्थ लागुऔषध प्रवेश हुनबाट रोक्न सबैले आ-आफ्नो घरमा लागुऔषध प्रवेश हुन नदिने अभियान चलाउनु जरुरी रहेको बताए ।

कार्यक्रममा ईन्द्रेणी सामाजिक विकास केन्द्र नेपालका सहजकर्ता दिपक भन्डारीले स्थानीय सरकारले पनि आफ्नो स्थानीय स्तरमा भविष्यमा युवा पुस्ताहरू कुलतमा नफसुन भनेर विभिन्न खेलकुद मैदान बनाउने, विभिन्न किसिमका खेलकुद कार्यक्रम गर्ने र खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताएका थिए । त्यसका साथसाथै स्थानीय प्रहरी, क्लबहरू, आमा समूह र स्थानीय संचारकर्मी मिलेर विभिन्न किसिमका जनचेतना मूलक कार्यक्रम व्यापक रूपमा गर्न आवश्यक रहेको पनि भण्डारीले बताए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक थानेश्वर पोख्रेलको प्रमुख आतिथ्यता, कालिका सामाजिक विकास केन्द्र का कार्यक्रम संयोजक तथा प्रशिक्षक अर्जुन थापाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा दुधाधारी माध्यमिक विद्यालय गुगौलीका शिक्षक जय प्रकाश पौडेल, मेघनाथ मौर्य, इलाका प्रहरी कार्यालय गणेशपुरकी प्रहरी जवान निरू क्षेत्री लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयमा अध्यनरत बिद्यार्थीहरूलाई लागुपदार्थ दुर्व्यसनी बाट हुने असर तथा ओसारपसार गर्दा हुन सक्ने कानुनी कारबाहीका बारेमा सहजकर्ता अर्जुन थापा र प्रहरी निरीक्षक थानेश्वर पोख्रेलले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम अादर्श युवा क्लबका अध्यक्ष दिनेश तिमिल्सिनाको अध्यक्षता र सचिव प्रभात न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो ।