एजेन्सी ।
भारतकाे हैदराबादमा बालापुर गणेशलाई चढाइएकाे २१ किलाेग्राम लड्डु शुक्रवार २४.६० लाख भारु (झन्डै ४० लाख रुपैयाँ) मा बिक्री भएकाे भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएकाे छ ।

गणेश चतुर्थीका अवसरमा गणेशकाे प्रतिमामा चढाइएकाे लड्डु लिलामीमा यति महँगाे मूल्यमा बिक्री भएकाे हाे । स्थानीय व्यापारी वी लक्ष्मा रेड्डीले गणेशलाई चढाइएकाे लड्डु किनेका खबरमा उल्लेख छ । गएकाे वर्ष लड्डु १८.९० लाख भारुमा बिक्री भएकाे थियाे । गणेशलाई चढाएकाे लड्डु किन्दा साैभाग्य हुने, राम्राे स्वास्थ्य, सम्पत्ति र खुसी प्राप्त हुने स्थानीयवासीकाे मान्यता छ । गणेशकाे मूर्ति विसर्जन गर्नुअघि लड्डु लिलामी भएकाे हाे ।

यसैबीच सहरमा गणेशकाे मूर्ति विसर्जन कार्यक्रममा मानिसकाे भिड बढेपछि धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएकाे खबरमा उल्लेख छ । विसर्जन कार्यक्रम आज शनिवार दिउँसाेसम्म चल्ने सम्भावना छ ।

१० लाख सीसीटीभीकाे सहयाेगमा पूरै तेलङ्गाना राज्यमा मूर्ति विसर्जन शाेभा यात्रामा नजर राखिएकाे प्रहरीले जनाएकाे छ । राज्य सरकारले हैदराबाद र नजिककाे जिल्लामा शुक्रवार सार्वजनिक बिदा घाेषणा गरेकाे थियाे । बालापुरदेखि हुसैनपुरसम्म १९ किलाेमिटरकाे पूरै यात्रा मार्गमा सुरक्षा व्यवस्था कडा बनाइएकाे छ ।