काठमाडौं, भदौ २३

क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्। भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर नाबालिगमाथि पटकपटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ। आफूमाथि बलात्कार गरेको भन्दै पीडितले मंगलबार प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएकी थिइन्।

जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनीविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पनि लिएको छ। अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको हो।‘काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछाानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ। प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।