एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा स्वदेशी नस्लका मुधोल हाउन्ड कुकुर समावेश हुने भएका छन् । मोदीको सुरक्षा हेर्ने विशेष सुरक्षा समितिले स्थानीय जातको कुकुरलाई पनि सुरक्षामा समावेश गर्ने निर्णय गरेको बीबीसी हिन्दीले जनाएको छ ।

अहिले भारतीय प्रधानमन्त्रीको सुरक्षामा सुरक्षाकर्मीको विशेष युनिट, बम डिस्पाेजल टिम, क्विक रेस्पोन्स टिम लगायत सयौँ सुरक्षाकर्मी र तालिम प्राप्त विदेशी जातका कुकुर परिचालन भएका छन् । अब सुरक्षाकर्मीले भारतको कर्नाटकका स्थानीय मुधोल हाउन्ड जातको कुकुर पनि परिचालन गर्ने भएका हुन् । मोदीलाई सुरक्षा दिने कुकुरको चार महिने कडा तालिम पनि सुरु भएको छ ।

विशेषगरी छत्रपति शिवाजी महाराजको सेनामा यो मुधोल हाउन्डले ठूलो वीरता देखाएको थियो । तीव्र आँखा, बहादुरी र इमानदारिताको उत्कृष्ट उदाहरण मुधोल हाउन्ड भएको खबरमा उल्लेख छ । मुधोल सिकारी कुकुरहरू सामान्यतया अग्लो हुन्छन् । यी कुकुरहरू लामो र अग्लो शरीरका साथ धेरै फुर्तिलो हुन्छन् । मुधोल हाउन्ड कुकुर राम्रो प्रतिरक्षा प्रणालीका कारण कम थकित र कम बिरामी हुन्छन् । अन्य कुकुरहरूको तुलनामा यी कुकुरसँग गन्ध सुग्ने क्षमता कयौँ गुणा धेरै रहेको खबरमा उल्लेख छ । यस्तै याे कुकुरसँग कुनै पनि मौसममा काम गर्ने क्षमता छ । भारतमा मुधोल हाउन्डहरूले वायु सेना, अर्धसैनिक, डीआरडीओ र राज्य पुलिस बलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।