मोरङ र सप्तरीमा पेस्तोलसहित दुई जना पक्राउ
काठमाण्डाै – मोरङको सुनवर्षी नगरपालिका-८ खरेबारी अन्तर्गत भारतीय सीमाक्षेत्रबाट दुई वटा पेस्ताेलसहित एक जना पक्राउ परेका छन् । प्रहरीले हिजाे माेरङ सुनवर्षीकै २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हाे।
को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल त्यसकाे एउटा म्याग्जिन तथा एक राउण्ड गोली तथा एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो ।
आलमले पेस्तोल माेरङकै उर्लाबारी नगरपालिका-६ बस्ने २९ वर्षीय नविन धिमालले मगाएको बताएका र उनकाे बयानको आधारमा धिमाललाई पनि मोरङको रतुवामाई नगरपालिका-८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ।
धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाइकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोबाइल सेट समेत बरामद भएको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका दुवै जनालाई बरामद गरिएकाे पेस्तोल, म्याग्जिन, गोली, मोटरसाइकल, रुपैयाँ र माेबाइल सहित कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको छ। यसैगरी सशस्त्र प्रहरी बल नेपाल बीओपी बनैनियाले हिजाे सप्तरी जिल्लाको राजगढ नगरपालिका-२ बनैनिया सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल तथा त्यसकाे एउटा गोली बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै आफूले बोकेको शङ्कास्पद वस्तु छाडेर फरार भएका थिए । वस्तु जाँच गर्दा पेस्तोल तथा गोली बरामद गरिएको प्रहरीले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















