चितवन : पत्रकार शिशिर सिंखडालाई आक्रमण गर्ने आक्रमणकारीहरु ४ दिनदेखि फरार रहेका छन्। प्रहरीले खोजी कार्य जारी रहेको बताए पनि उनीहरु पक्राउ परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रवक्ता नरहरी अधिकारीले पत्रकार सिंखडालाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी रहेको बताएका छन्।

पत्रकार सिंखडामाथि गत बुधबार बिहान हातपात भएको हो। दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल बजारबाट फर्कंदै गरेको समयमा पत्रकार सिंखडालाई दीपक लामिछानेलगायत चार जनाको समूहले आक्रमण गरेको हो।

लामिछाने कालिका नगरपालिकाका निवर्तमान मेयर खुमनारायण श्रेष्ठका स्वकीय सचिव (पीए) हुन। साथै उनी नेकपा (एमाले) कालिका नगर कमिटीका उपाध्यक्षसमेत रहेका छन्।

गत मंगलबार कालिका नगरपालिकाका निवर्तमान मेयर श्रेष्ठ र पीए लामिछानेविरुद्ध २५ करोड भन्दा बढी भ्रष्टाचार गरेको भन्दै पुनः अख्तियारमा उजुरी शीर्षकमा विभिन्न सञ्चार माध्यममा दर्जनभन्दा बढी समाचार प्रकाशित भएका थिए।

यसैबीच घटनामा संलग्न रहेका चार जनाविरुद्ध पत्रकार सिंखडाले बुधबार नै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए। नेपाल पत्रकार महासंघ चितवनलगायत पत्रकार सम्बद्ध संघ संगठनको रोहवरमा पत्रकार सिंखडाले लामिछानेसहित उनका भाइ दिलिप लामिछाने र भान्जाहरू समीर सापकोटा तथा निकेश नेपालविरुद्ध किटानी मुद्दा दायर गरेका हुन्।

उनीहरुले पत्रकार सिंखडालाई मोटरसाइकलको हेल्मेटले हान्नुका साथै मार्ने धम्कीसमेत दिएका थिए।

उनीमाथि भएको आक्रमणको पत्रकार सम्बद्ध संघ संगठनहरुले निन्दा र भर्त्सना गरेका छन्।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, रेडियो टेलिभिजन समन्वय विभागका सदस्य, नेपाल पत्रकार महासंघ चितवनका सदस्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सह इन्चार्ज, रेडियो नेपालका चितवन समाचारदाता तथा कालिका दैनिक अनलाइनका प्रधान सम्पादक सिंखडामाथि गत बुधबार बिहान आक्रमण भएको थियो।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र प्रेस सेन्टर चितवनका कोषाध्यक्ष किशोरचन्द्र सापकोटाले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको भर्त्सना गरेका छन्।

यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सचिव गोविन्दप्रसाद चौलागाई तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भत्सर्ना गरेका छन्।

यसैगरी प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका महासचिव हीरामान लामा, बागमती प्रदेश कमिटीका महासचिव प्रकाश दाहालले पनि विज्ञप्ति प्रकाशित गरी घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेका छन्।