दाङ – कृष्ण जन्माष्टमीका दिन व्रत बसेका थारु समुदायका महिलाहरुले आज स्थानीय खोलामा जम्मा भइ पूजापाठ गरी व्रतकाे विधिपूर्वक समापन गरेका छन् ।

दाङसहित पश्चिम तराईका थारु समुदायले हर्ष उल्लासका साथ खोलामा गएर पूजा सामाग्री बगाउने र बगाइएको फलफूल युवाहरुले समात्ने र प्रसादका रुपमा खाने चलन छ। कृष्ण जन्माष्टमी पर्वमा विशेष गरि थारु महिलाहरु दिनभर व्रत बसी साँझ कृष्णसँग सम्बन्धित गीत गाएर रमाइलो गर्दछन् । थारु समुदायले गाउँको महतवाको घरमा कृष्ण र पाण्डवसँग सम्बन्धित चित्र बनाउने गर्दछन् । जुन चित्र नेपाली चित्रकलाको दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।

 

कृष्ण जन्माष्टमीका दिन नुहाएर कृष्ण, पाण्डवसहित प्रकृतिमा रहेका विभिन्न जीवको चित्र महतवाको घरको भित्तामा बनाउँछन् । साँझ गाँउका सबै त्यही घरमा जम्मा भइ चित्रमा पूजा गर्ने चलन छ। यो चित्रले थारुहरुको सम्बन्ध कृष्ण र पाण्डवसँग रहेको देखाउने गरेको थारु अगुवाहरु बताउँछन् ।