कृष्णनगर भन्सार कार्यालयबाट ९३ प्रतिशत राजस्व असुली
पार्वती आचार्य, कपिलवस्तु साउन ।
कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७८÷०७९ मा तोकिएको लक्ष्यको ९३ दशमलव ४६ प्रतिशत राजस्व संकलन भएको छ । भन्सार कार्यालयमा गत आर्थिक वर्ष ५ अर्व ४३ करोड ४४ लाख ३७ हजार रुपैँया राजस्व संकलन भएको थियो, जसमा ९३।४६ प्रतिशत रहेको छ । ०७८÷०७९ का लागि भन्सारलाई ५ अर्व ८१ करोड ४८ लाख ६१ हजार रुपैँया लक्ष्य तोकिएको थियो ।
आर्थिक वर्ष २०७७÷०७८ मा ५ अर्व २७ करोड ५ लाख ५६ हजार रुपैँया राजस्व संकलन भएको थियो । प्रतिशतमा १ सय ७ दशमलव ७० प्रतिशत असुली भएको थियो । ०७७÷०७८ मा ४ अर्ब ०८९ करोड ३६ लाख ८४ हजार रहेको थियो । यस भन्सार नाकाबाट चामल फलफुल , खरानी, जिप्सम, आइरन डस्ट आयातबाट सबैभन्दा बढी राजस्व असुली हुने गरेको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । यस्तै कोइला, जिरा चामल र कनिका, गहुँ, खसीबोका, फलफूल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपूर्जा आयातबाट राजस्व संकलन हुने गरेको छ । कृष्णनगर भन्सारबाट बर्षेनी आयात बढ्दै गएको छ ।

यस्तै आर्थिक बर्ष ०७८÷०७९ मा २६ अर्व ८१ करोड ३८ लाख ९४ हजार ५५ रुपँैयाको सामान यस भन्सारबाट आयात भएको छ । यस्तै आर्थिक बर्ष ०७७÷०७८ मा २४ अर्व ४९ करोड ९ लाख ९ लाख २ सय ८८ रुपैँयाको सामान आयात भएको थियो ।
भारतबाट आयात हुने सामानहरु निरन्तर बढ्दै गएको छ तर आयातको तुलनामा निर्यात भने कम हुने गरेको कृष्णनगर भन्सार प्रमुख जर्नादन पौडेलले बताउनु भयो । आव ०७८÷०७९ मा भन्सार हुँदै भारततर्फ ५४ करोड ८६ लाख ३० हजार ३ सय ३२ रुपैँयाको सामान निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा भने ३३ करोड २२ लाख १३ हजार ३ सय ३ रुपैँयाको नेपाली सामान निर्यात भएको भन्सार प्रमुख पौडेलले बताउनु भयो ।
यसैगरी आयात हुने मध्ये सबैभन्दा बढी चामल आयात भएको छ । आव ०७८÷०७९ मा ६ अर्व ३३ करोड १४ लाख ६ हजार रुपैँयाको चामल मात्र भित्रिएको छ । आर्थिक वर्ष ०७७÷०७८ मा ३ अर्व ५४ करोड ६३ लाख २० हजार रुपैँयाको चामल नेपाल भित्रिएको थियो । यस्तै फलफुल २ अर्व ९६ करोड ५० लाख ३४ हजार रुपैँयाको आयात भएको छ । एमएस बिलेट २ अर्व १६ करोड ७७ लाख ६६ हजार रुपैँयाको भित्रिएको छ ।
यस्तै कोईला १ अर्व ५५ करोड ३० लाख ६ हजार, खाली सिसा बोतल १ अर्व २० करोड ३४ लाख १ हजार रुपैँया, फ्लाईस १ अर्व ७३ करोड ५० लाख २ हजार रुपैँयाको आयात भएको छ । यस्तै जिप्सन ८६ करोड ६८ लाख ९९ हजार , ब्याट्री माल्ट ८१ करोड २७ लाख ६७ हजार रुपैँया, आईरन ५८ करोड २७ लाख ७४ हजार रुपैँया र मुमफली दाना ५३ करोड १ लाख ३० हजार रुपैँया बढीको आयात भएको प्रमुख पौडेलले बताउनु भयो ।
यसैगरी भारततर्फ २६ करोड २३ लाख ५४ हजार रुपैँयाको रोजीन निर्यात भएको कृष्णनगर भन्सार कार्यालयका सुचना अधिकारी ठाकुर गौतमले बताउनु भयो । १४ करोड ८० लाख ४५ हजार रुपैँयाको प्लाईउड, टारपिन तेल ५ करोड ६२ लाख ७३ हजार रुपैँया, मुस्टार्ड सामान १ करोड २३ लाख ६३ हजार रुपैँया निर्यात भएको छ ।
यस्तै सुगन्ध कोकिला मार्क १ करोड १५ लाख ४६ हजार रुपैँया, फेल्ट वालर ८७ लाख ४२ हजार रुपैँया, काठका सामाग्री ५८ लाख २३ हजार रुपैँया, काठका कचौरा ३९ लाख ८४ हजार रुपैँयाका सामाग्रीहरु भारत पठाईएको सूचना अधिकारी गौतमले जानकारी दिनु भयो ।
आयात भएका सामानहरुमा व्यक्तिहरुले भारतीय बजारबाट किनेर झोलामा ल्याएका सामानहरुको मूल्य समावेश नभएको भन्सार प्रमुख पौडेलले बताउनु भयो । यो समेत जोड्ने हो भने आयातको रकम अझै बढने देखिन्छ । ‘आयत निरन्तर बढिरहेको छ, निर्यात बढे पनि त्यो संतोषजनक नभएको भन्सार प्रमुख पौडेलको भनाई छ ।
भन्सार असुलीको हिसाबले ठीक हो, तर समग्र राष्ट्रको उत्पादनमा भने परनिर्भता झनै बढिरहेको देखिन्छ । कार्यालयका लागि आर्थिक बर्ष ०७९÷०८० मा ७ अर्ब ६९ करोड २४ लाख ५ हजार लक्ष्य तोकिएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























