सनिउल्ला धोबी,

कपिलवस्तुको चन्द्रौटा, गोरुसिगें, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरा लगायत हरेक चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान देखिन्छन । कपिलवस्तुको दश वटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । जिल्लाको कपिलवस्तु नगरपालिका तौलिहवामा सबैभन्दा बढी पशु चौपाया सडकमा रहेको पाइन्छ ।

छाडा चौपायाहरू दिनभरि सडकमा हिँड्ने र राति खेतबारीमा किसानले लगाएको बाली खाने गरेको जन गुनासो उठेको छ । जसका कारण सडकमा यात्रा गर्नेदेखि कृषकहरूलाई समेत समस्या भोग्नु परेको छ । खेतमा लगाएको धानबाली जोगाउन रातभरि जाग्राम बस्नुपर्ने कृषकहरू बताउँछन् ।
सडकमा हुने अधिकांश सडक दुर्घटना छाडा चौपायाकै कारण हुने गरेको जिल्ला ट्राफिक कार्यालय गोरुसिगें कपिलवस्तुका सहयाक प्रहरी निरिक्षक ज्ञनेन्द्र शर्माले बताउनुभयो । पशु चौपायाहरु सडकमै बस्ने भएकोले रातको समयमा पशुचौपायाले गर्दा बढी दुर्घटना बढेकोले दिगो व्यवस्थान गर्न सहयाक प्रहरी निरिक्षक शर्माले आग्रह गर्नुभयोे ।

कृषकहरूले आफ्नो बारी जोगाउन अनेक उपाय अपनाए पनि छाडा चौपायाको दिगो व्यवस्थापन हुन सकेको छैन । अनेक उपाय अपनाए पनि छाडा चौपाया खेतमा पसेर वाली जोगाउनै मुश्किल हुने गरेको छ शिवराज नगरपालिका ३ का सलिम खाँनले बताउनुभयो । स्थानीय तहहरूले छाडा चौपाया व्यवस्थापनका लागि दिगौ व्यवस्थापन नगर्दा समस्या सृजना भएको कृषक खाँनले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनको मुद्दा जोडतोडले उठ्यो । उम्मेदवारहरूले पनि छाडा चौपाया व्यवस्थापनलाई नै प्रमुख एजेन्डा बनाए । निर्वाचित भएपछि ठूलो रकम खर्च पनि भयो । तर छाडा चौपायाको समस्या अहिले पनि जस्ताको त्यस्तै छ ।

मधेश मानव अधिकार गृहका पुर्व अध्यक्ष रवि ठाकुर भन्नु हुन्छ पालिकाले चौपायाको व्यवस्थापन गर्नुपर्छ । चुनावी नारा बनाएको उम्मेदवारहरुले चौपाया व्यवस्थापनको लागि ठोस कदम चाल्नु पर्ने अधिकारकर्मी ठाकुरले बताउनुभयो ।

पालिकाहरूले दीगो रूपमा व्यवस्थापन नगरेका कारण पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा देखीएको छ । छाडा चौपायालाई थन्क्याउने होइन, कम्पोस्ट मलको स्रोतका रुपमा पनि प्रयोग गर्नुपर्ने हाम्रो योजना रहेको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले बताउनभुयो ।
पशुचौपायाको व्यवस्थापनका लागि महाराजगंजमा गौशाला निर्माण कार्य भैरहेको बताउनुभयो ।