काठमाण्डाै – नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउने प्रतिबद्धता जनाउनु भएकाे छ । आज गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गर्ने बताउनु भएकाे छ ।

उहाँले भएका र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले सङ्गठन चलाउने पद्धतिको सुरुवात गरिने प्रतिबद्धता जनाउनु भयो ।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संस्थागत सुधार अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको कमाण्ड, आचरण पालना, अनुगमन मूल्याङ्कन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवम् लैङ्गिक हिंसा लगायतका विषयहरुलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गर्ने बताउनुभयो । उहाँले आर्थिक पारदर्शीतालाई आफ्नो पहिलो प्राथमिकता बनाएर राजश्व सङ्कलनमा अभिवृद्धि र चोरी, तस्करी नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउनु भयो ।

अर्यालले प्रत्येक वर्ष सरुवा हुनसक्ने कर्मचारीको ट्रान्सफर फरकास्ट प्रकाशित गर्ने र सरुवामा आउने गरेका अनावश्यक दबाबलाई अन्त्य गर्ने बताउनु भयो । उहाँले गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्नेमा मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

अर्यालले सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४सै घन्टा रहनेगरी सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिने पनि जानकारी दिनुभयो ।

गृहमन्त्रालयमा आज गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो।