पर्सा । जिल्ला प्रहरी कार्यलय पर्साले मोटरसाइकल चोरी गर्ने तीन जनालाइ नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका १० रानीघाटका १८ वर्षका कुन्दन साह, ठोरी गाउँपालिका १ का २५ वर्षीय निरज सुनुवार र रौतहट राजदेवी नगरपालिका ७ का १८ वर्षीय रक्की भन्ने राहुल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

एफजेड बाइक चोरी गरी भाग्दै गरेको अवस्थामा साह र सिंहलाई गएराती पक्राउ गरिएको हो। सुनुवार भने आफ्नै घरमा त्रिपालले लुकाइराखेको स्प्लेण्डर मोटरसाइकल सहित पक्राउ परेका हुन्।

उनीहरूको साथबाट ना. ६४ प ९६०० एफजेड र बा.प्र ०३ प ५३०४ सुपर स्प्लेण्डर नम्बरका २ वटा मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ।