विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बालबालिका शिक्षित भए मात्र समाजको विकास हुने बताउनुभएको छ । उहाँले बालबालिका भविष्यको कर्णधार भएको बताउँदै समाजमा उल्लेखनीय परिवर्तन ल्याउनका लागि बालबालिकालाई शिक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । बालबालिका सचेत हुँदै जाँदा स्वतः हरेक सामाजिक कार्यहरुमा सुधार र विकास हुँदै जाने उहाँले बताउनुभयो ।

नयाँ वर्ष २०७९ सालको सम्पूर्णलाई शुभकामना दिँदै बालबालिकाहरुले अधिकांश समय घरमै अभिभावकसँगै बिताउने भएकोले शिक्षित समाज निमार्णका लागि अभिभावकको भुमिका महत्वपूर्ण भएको बताउँदै छोराछोरीलाई विद्यालयसम्म पठाउन उहाँले अनुरोध गर्नुभयो । अध्यक्ष थापाले यस कार्यक्रमले बालबालिकाको शैक्षिक सुधारमा उल्लेखनीय परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “जहाँ शिक्षा छ, त्यहाँ अवश्य विकास हुन्छ । जहाँ विकास छ, त्यहाँ शैक्षिक अवस्था पनि राम्रो छ” । जुन मुलुकले शिक्षा र स्वास्थ्य क्षेत्रमा फड्को मारेका छन ती मुलुक विकासमा पनि फड्को मारेको थापाले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ५ मा बिहिबार खाद्य सुरक्षा पोषण तथा शैक्षिक सुधार नगद वितरण कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।

यस्तै वडा अध्यक्ष अनवर मोहम्मद मुुसलमानले नयाँ वर्षको शुभकामना दिँदै देशको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ हुनुपर्ने बताउनुभयो । उहाँले विकास र समृद्धिका लागि शैक्षिक जगतलाई बलियो बताउनुपर्नेमा जोड दिनुभयो । उहाँले यहाँ एक, दुई जना व्यक्ति बदलेर हाम्रो शैक्षिक गुणस्तरीयता सुध्रिदैन यसमा सबैले लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष मुसलमाने दृढ इच्छाशक्ति, शिक्षाप्रति उत्तिकै लगाव राख्नहुन अनुरोधसमेत गर्नुभयो ।

यु.एस.ए.आइ.डी. को सहयोग र खाद्य सुरक्षा पोषण तथा शैक्षिक सुधार नगद कार्यक्रम अन्तर्गत वडा नम्बर ५ का १ देखि ३ कक्षासम्मका प्रति विद्यार्थीलाई ७ हजार ७ सय ५० रुपियाँको दरले वितरण गरिएको शिक्षा शाखामा कार्यरत दिपेन्द्र कपुर कोरीले जानकारी दिनुभयो । उहाँले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न गरिएको बताउनुभयो ।