शहबाज खान, कपिलवस्तु ।
कपिलवस्तुमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् । गत तीन महिनाभित्र मात्र ११ वटा सिँचाई योजनाका विद्युत ट्रान्सफर्मर चोरी भएको जनाएको छ । यस्तै गत राती कृष्णनगर नगरपालिकाको वड़ा नम्बर ३ लक्ष्मीनगरको किसान जल उपभोक्ता समितिले सिँचाई योजनाको लागि लगाएको विद्युत ट्रान्सफर्मर चोरी भएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए ।

उपभोक्ता समितिका एक पदाधिकारीका अनुसार विद्युत ट्रान्सफर्मर जडान हुने बित्तिकै ट्रान्सफर्मरलाई आइरन बेल्डिङ गर्नका लागि सम्बन्धित निकायलाई जानकारी गरे पनि बेवास्ता गरेको बताएका छन् । तर ट्रान्सफर्मरलाई बिना वेल्डिंग, नट–बोल्टको भरमा छोडेको अवस्थामा चोरी भएको उनले बताए । नेपाल विद्युत प्राधिकरण तथा वितरण केन्द्र कृष्णनगर प्रमुख कमर आलम खाँले सिँचाई योजनाका उपभोक्ता समितिले अधिकांश ट्रान्सफर्मर टाढा खेतबारी र सुनसान ठाउँमा लगाएको हुनाले ट्रान्सफर्मर चोरी हुने गरेको बताए ।

सिँचाई योजनाका ट्रान्सफर्मरलाई उक्त योजनाकार उपभोक्ता समितिको माध्यमले सञ्चालन भएकोले ट्रान्सफर्मरलाई चोरी नियन्त्रण गर्नका लागि गाउँ, घरको वरिपरि सड़क किनारमा जडानको लागि अधिकांश उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनुरोधसमेत गरेको उनले बताए । ट्रान्सफर्मर चोरी भइरहेको अवस्थामा त्यसमा उपभोक्ताले ध्यानदिन आवश्यक र रहेको त्यसमा नेपाल विद्युत प्राधिकरण तथा वितरण केन्द्रको कुनै पनि भुमिका नहुनेसमेत खाँले बताए ।

कपिलवस्तुको कृष्णानगर नगरपालिका, विजयनगर गाउँपालिका, शिवराज, महराजगञ्ज र बाणगंगा नगरपालिकाबाट तीन महिनामा ११ वटा सिँचाई योजनाका विद्युत ट्रान्सफर्मर चोरी भएको बताइएको छ । यसरी विद्युत ट्रान्सफर्मर चोरी भइरहँदा सम्बन्धित निकाय बेखबर बनेका छन् । सिँचाई योजनाको लागि राखिएको विद्युत ट्रान्सफर्मर मात्र चोरी हुनुमा विद्युत कर्मचारी र प्रहरीको मिलेमतो हुन सक्ने उपभोक्ता समितिका पदाधिकारीेले आरोप लगाएका छन् ।

सिँचाई योजनाका विद्युत ट्रान्सफर्मर चोरी भइरहँदा किसानहरु चिन्तित भएका छन् । डिप बोरिंग सिँचाई योजनामा प्रयोग हुने ट्रान्सफर्मर लगभग ४ लाख ५० हजार रुपैयाँ लागत पर्ने गरेको जनाइएको छ । सम्बन्धित र प्रशासनले ती अपराधीहरुको खोज, तलास अभिलेखसम्म गर्न सकेको छैन ।