राम अवतार चाैधरी  । कपिलवस्तुको महाराजगन्ज नगरप्रमुख अब्दुल कलामले कतिपय पालिकाका जनप्रतिनिधिहरू विकासको बाधक भएको उदाहरण दिँदै महाराजगन्जमा त्यस्तै नभएको बताएका छन् । जिल्लाको शिवराज नगरपालिका-३, खरेन्द्रपुर सुपादेउराली रिसाेर्टमा शनिबार आयाेजित नगरका जनप्रतिनिधि तथा कर्मचारी सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताए ।

५ वर्षको अवधिमा विवादरहित नगरपालिकाको रूपमा चिनाउन सफल भएकोमा सम्पूर्ण जनप्रनिधिहरुलाई धन्यवाद दिए । नगरप्रमुख कलामले नगरले गरेका विकासका कामको बारेमा चर्चा गर्दै ५ वर्ष अघिको महाराजगन्ज नगर अहिलेको महाराजगन्ज तुलना गर्न आग्रह गरे ।

नगरमा रहेका एक सय गाउँ किचड मुक्त बनाउने अभियान सुरु गरेको बताउँदै उनले भने : `गाउँ पुग्ने र गाउँ भित्रका गल्लीहरू आरसिसी,पक्की लगायतका काम भइरहेको छ, प्रमुख कलामले भने : ‘गाउँ पुग्ने सडक समेत नभएका ठाउँहरूमा अहिले पक्की बाटो पुगेको छ´।

कोभिडको बेला नगरका विद्यालयहरू क्वारेनटाइन तथा आइसलेसनको रूपमा प्रयोग गरेर आम नागरिकहरूलाई सहज वातावरण सिर्जना गरेको जिकिर गरे । स्वास्थ्य चौकीका भवनहरू निर्माण गरेर वर्थिङ सेन्टर,आर्वेद औषधालय लगायत अस्पतालहरू सञ्चालनमा रहेको बताए ।

१५ शय्याको अस्पतालको निर्माणको काम केही दिनमै सुरु हुने जनाउँदै अस्पताल निर्माण पश्चात् बुटवल, भैरहवा, तौलिहवा लगायतका ठाउँमा उपचारको लागि जानुपर्ने बाध्यता हट्ने प्रमुख कलामले बताए । नगरको सिवाभारीमा भारतीय दूतावासको सहयोगमा ४ करोडको लागतमा विद्यालय भवन निर्माण भएको बताए ।

दुई तले अत्याधुनिक भवन निर्माण भएको बताउँदै विद्यार्थीहरूलाई शिक्षण सिकाईमा सहजता आउने विश्वास समेत प्रमुख कलामले व्यक्त गरे । यसैबीच कार्यक्रममा बाेल्दै नगर उपप्रमुख सुभावती कुर्मीले सम्मान कार्यक्रमले कर्मचारीहरूको मनोबल बढने बताइन् ।

नागरिकहरूको सेवामा खटिएका जनप्रनिधिहरुलाई सम्मान गरिएको बताउँदै विगत ५ वर्षको अवधिमा उल्लेखनीय काम गरेकोमा सबैलाई धन्यवाद दिइन् । उक्त कार्यक्रमका केही समय नगरले गरेका गतिविधिहरूको भिडियो सामग्री समेत देखाइएको थियो ।

स्थानीय तहको निर्वाचन नजिकिए सँगै २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई नगरप्रमुख अब्दुल कलामले नगरको विकासमा सहयोग गरेको भन्दै सम्मान पत्रले सम्मान गरेका थिए ।

नगरपालिकामा कार्यरत ३५ जना कर्मचारी र ५८ जना जनप्रनिधिहरुलाई सम्मान पत्र, दोसल्ला र नगदले सम्मान गरिएको नगरपालिकाले जनाएकाे छ ।