वर्षाैँपछि डाेटीकाे काैराडीमा बिजुली पुग्याे
डोटी – डोटीको सबैभन्दा दुर्गम मानिने सायल गाउँपालिका–१ छपाली काैराडीमा वर्षाैँपछि बिजुली बत्ती पुगेको छ ।
यस वडा वर्षौदेखि अन्धकार भएका कारण स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारको सहयोगमा ३३ केभीए प्रसारण लाइनको विद्युत् सेवा पुगेको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ । गाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका नागरिकहरुको कामकाजमा पनि निकै सहज बन्ने भएको छ ।
डोटीको पश्चिमी क्षेत्रमा रहेका स्थानीय तहमा विद्युत् विस्तारका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको सहयोग तथा सहकार्यमा आदर्श गाउँपालिकामा रहेकाे मौवानगर दहमा ३३ केभीए विद्युत् प्रसारण तथा वितरण केन्द्र स्थापना भएपछि अहिले यहाँका दुर्गम वडाहरुमा विद्युत् विस्तारको काम सुरु भएको मौवा विद्युत् सबस्टेसन कार्यालयका प्रमुख टेकबहादुर खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबस्टेसन निर्माणसँगै हामीले पश्चिमी क्षेत्रका स्थानीय तहका सबै वडामा विद्युत् विस्तारको काम सुरु गरेका छौँ, सबैभन्दा विकट मानिएको कौराडीमा पहिलो पटक विद्युत् विस्तार भएको छ, अब अन्य वडा तथा गाउँमा विस्तार गर्नेछौँ ।’
कुनै बेला विद्युत् नहुँदा अन्धकार जस्तै भएको छपाली कौराडीमा विद्युत् सेवा विस्तार पछि अहिले याे पूरै वडा झिलीमिली बनेको सायल गाउँपालिका–१ छपाली कौराडीका वडाअध्यक्ष हिरा थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुर्गम वडाहरुमा विद्युत् पुर्याउने हाम्रो सपना पूरा हुँदै छ, अन्य दुर्गम गाउँमा पनि क्रमिक रुपमा विद्युत् विस्तार गर्ने छौँ ।’
वडाभरिमा विद्युत् सेवा विस्तार गरिएपछि अहिले त्यहाँका नागरिकहरु निकै खुशी भएका माओवादी केन्द्रका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आम नागरिकलाई चाहिने भनेको शिक्षा, स्वास्थ्य, सडक र विद्युत् हो, हामीसँग विद्युत् थिएन, अहिले विद्युत् विस्तार गर्न सफल भयौँ, अब अन्य विकासका कामहरु गर्ने छौँ ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























