कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश विकासका लागि सन्तुलित विकास आवश्यक रहेको बताएका छन् । सरकारले सबै क्षेत्रमा भेदभावरहित जनसंख्या र आवश्यकता अनुसार बजेट विनियोजन गरी लगानी गरे मात्र सन्तुलित विकास हुन सक्ने बताए ।

सबै निकायमा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने बताउँदै तराईको हरेक निकायमा प्रतिनिधित्व कम रहेको उनले दाबी गरे । शैक्षिक र आर्थिक रुपमा सबैभन्दा पछाडी परेका, जातीय रुपमा अपहेलित वर्गलाई माथि उठाउन बजेट लगानी गर्नुपर्ने अध्यक्ष यादवले जिकिर गरे । उनले यसलाई राजनीतिकीकरण गर्दै अगाडी लैजानुपर्नेमा जोड दिए ।

मधेशका कतिपय जनताले अझै पनि नागरिकतासमेत नपाएको बताउँदै जसपाले पटक–पटक नागरिकताको विषयमा आवाज उठाउँदै आएको उनले बताए । उनले भने, “नागरिकहरूलाई नागरिकता दिनु सरकारको दायित्व हो तर त्यहाँ भेदभाव छ धैले नागरिकता पाएका छैनन्” । कपिलवस्तुको कृष्णनगरमा आयोजित पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रममा शनिबार यादवले यस्तो बताएका हुन् ।

मधेस जनविद्रोहले शासन प्रणाली बदल्नमा सहयोग पुगेको बताउँर्दै आन्दोलनका क्रममा कपिलवस्तुको कृष्णनगर क्षेत्रका जनताले ठुलो साथ रहे तापनि आफ्ना मागहरू पुरा नभएको बताए । कम्युनिस्ट र काग्रेसहरु जनताको विकास नचाहने र अरू माथि दमन गर्ने पार्टी रहेको आरोपसमेत लगाए । उनले थपे “कम्युनिष्ट र काँग्रेसहरु राजनीतिको नाममा कमाउने दल हुन् तिनीहरूबाट हामीले सजग सजग हुनुपर्छ”।

कार्यक्रममा जसपा नेपाल केन्द्रीय अनुशासन विभागका संयोजक नरसिंह चौधरी, केन्द्रीय सल्लाहकार प्रमुख तथा केन्द्रिय सदस्य कृष्ण हरी शर्मा, लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, जिल्ला अध्यक्ष शैलेन्द्र यादव लगायतले सम्बोधन गर्दै आगामी स्थानीय निर्वाचनमा जसपाले धेरै ठाउँमा जीत हासिल गर्ने भन्दै आगामी निर्वाचनमा जसपालाई जिताउन आग्रह गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रम राप्रपाका नेता श्याम कुमार मिश्र जसपामा प्रवेश गरेका छन् । मिश्रसहित ५ सय बढी जसपामा प्रवेश गरेको जसपाका प्रदेश सदस्य रहिस शाहले जानकारी दिए ।