काठमाण्डाै – काठमाण्डौको कलङ्कीमा तीन वटा गाडी र एउटा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कलङ्कीबाट बल्खुतर्फ आउँदै गरेको वाग्मती प्रदेश–१–२५–प ०४२० नम्बरको गाडी, बा ४९ प ७१८५ नम्बरको स्कुटर, बा १ प ९८८ नम्बरको माइक्रो बस र ना ५ ख ७५०८ नम्बरको ट्रक दुर्घटनामा परेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार पुरानो एमाले पार्टी कार्यालयनजिकै सुरूमा गाडीले स्कुटरलाई ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएपछि स्कुटर माइक्रो बससँग ठोक्किएको थियो।

माइक्रोसँग ठोक्किएपछि स्कुटरमा रहेका एक जना उछिट्टिएर ट्रकमुनि परेको प्रहरीले जनाएको छ । स्कुटर पछाडि रहेका  सुनसरी धरान घर भइ ललितपुरको टीकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको वयाेधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

घाइते स्कुटर चालक दिनेश थापाको वयाेधा अस्पतालमै उपचार भइरहेको छ ।