काठमाडौं । सञ्चारिका समूहको आठौं महाधिवेशन तथा २५ औं वार्षिक साधारणसभा काठमाडौमा शुरु भएको छ। महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे।

उक्त महाधिवेशनको अध्यक्षमा बिमला तुम्खेवा, कमला पन्थी, नितु पण्डीतले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारी वसन्ती बास्तोला लगायतको दाबेदारी रहेको छ। समूहले १३ सदस्यीय कार्यसमिति चयन गर्नेछ।

सो अवसरमा पुरस्कार वितरणको कार्यक्रमसमेत आयोजना गरिएको छ। सञ्चारिका समूहले ९ जना महिला पत्रकारलाई पुरस्कार प्रदान गरेको हो। समूहले समाचार, लेख, फिचरको शैली, विषयवस्तु, सन्देश, लैंगिक संवेदनशीलता, अन्वेषणजस्ता विषयलाई आधार बनाएर पुरस्कारका लागि छनोट गरेको थियो।

पुरस्कार पाउने महिला पत्रकारमा विद्या राई, फतिमा बानु मुना कुँवर, बिना राउत, हिरा परियार, मनिका विश्वकर्मा, सीतादेवी पोखरेल, सपना थामी र सृजना खड्का छन्।

सञ्चारिका समानता पुरस्कार २०७७ विद्या राई र फातिमा बानुलाई संयुक्त रूपमा प्रदान गरिएको छ। सञ्चारिका समानता पुरस्कार २०७६ भने मुना कुँवरलाई प्रदान गरियो।

यस्तै, पत्रकार हिरा परियारले ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ पाएकी छन्। यस्तै, उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार बिना राउतलाई प्रदान गरिएको छ।

यस्तै, मनिका विश्वकर्मा र सीतादेवी पोखरेल (मिनु) ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६’बाट सम्मानित भएका छन्। यस्तै, ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ बाट पत्रकारद्वय सपना थामी र सृजना खड्का सम्मानित भएकी छन्।