किशोर अवस्थामा अभिभावकको भूमिका सम्बन्धी अन्तरक्रिया।
सोन कुमारी थारु, । कपिलवस्तुको विजयनगर गाउँपालिकामा किशोरीहरुको अभिभावकसँग एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । बिहिबार सञ्चारिका समूह कपिलवस्तुको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा वडा नम्बर ६ खडैचामा अन्तरक्रिया गरिएको आयोजक संस्थाकी महासचिव शारदा केसीले जानकारी दिनुभयो ।
किशोर अवस्थामा अभिभावकको भूमिका विषयमा आमा अभिभावक र किशोरहरु बीचमा अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले किशोर अवस्था अन्य अवस्था भन्दा बढी संबेदनशील र जोखिम भएको बताउँदै अभिभावकले यस अवस्थामा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
उनले किशोरीहरुले के गर्ने, के नगर्ने निर्णय प्रक्रियामा कमजोर हुने भएकाले अभिभावकले सही समयमा उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड गर्नुभयो । यसैबीच सञ्चारिका समूहकी अध्यक्ष पार्वती आचार्यले किशोरीहरुले किशोर अवस्थामा हुने हरेक जोखिमयुक्त घटनाबाट सचेत हुनुपर्ने बताउनुभयो ।
उनले खासगरी किशोरीहरु नै बेचबिखनको शिकार हुने हुँदा अपरिचित व्यक्ति र कुनै पनि प्रलोभनमा नपरी होसियार हुन जरुरी रहेको जिकिर गर्नुभयो । यस्तै अन्तरक्रिया कार्यक्रमकी प्रशिक्षक निशा विश्वकर्माले किशोर अवस्थामा हुने जोखिम, मानव बेचबिखन, लैँगिक हिंसा, किशोर अवस्थामा हुने मानसिक परिवर्तन र चिन्तनको विषयमा ४६ जनाको किशोरी र आमाहरुको सहभागीतामा प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























