चीनका विदेशमन्त्री वाङ अफगानिस्तानमा, आर्थिक सहयोगबारे छलफल हुने
एजेन्सी ।
चीनका विदेशमन्त्री वाङ यी अफगानिस्तान जानुभएको छ । उहाँ आज बिहीवार बिहान अफगानिस्तान पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
गएको अगस्टमा तालिबान समूहले सत्ता कब्जा गरेपछि अफगानिस्तान पुग्ने वाङ पहिलो विदेशमन्त्री हुनुहुन्छ । तालिवान सरकारका उच्च अधिकारी अहमद यासिरले चीनका विदेशमन्त्री काबुल आएको जानकारी दिँदै उहाँ इस्लामिक सहयोग सङ्गठनको बैठकमा पनि सहभागी हुने बताउनुभएको खबरमा उल्लेख छ ।
चीनले अर्को हप्ता अफगानिस्तानमा सहयोग गर्नेबारे छिमेकी देशहरूसँग छलफल गर्न लागेको छ । काबुल भ्रमणका क्रममा विदेशमन्त्री वाङले अफगानिस्तानलाई आर्थिक सहयोग जुटाउनेबारे छलफल गर्नुहुनेछ ।
चीन र अफगानिस्तानबीच ७६ किलोमिटर लामो सीमा रहेकाले चीनले अफगानिस्तानबाट आतङ्कवादी खतरा नहोस् भनेर छलफललाई तीव्रता दिइरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























