पर्वत । जिल्ला अदालत कास्कीमा बुधवार राति चोरी गरेका एक युवक घटनाको २४ घण्टाभित्रै पक्राउ परेका छन्।

बुधबार राति अदालतको एक नम्बर इजलास कोठाको ढोकामा लगाएको ताला फोडेर इजलासको भित्र काठको टेबलमा रहेका कागजात यत्रतत्र छरिएको अवस्थामा भेटिएका थिए। चोरले इजलासका कागजात समेत चोरेको हुन सक्ने अनुमान गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव निरीक्षक सुन्दर तिवारीका अनुसार कास्कीको पोखरा महानगरपालिका–१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई पक्राउ गरिएको हो।

‘रातको समयमा बैदामस्थित जिल्ला अदालत कास्कीको परिसरमा प्रवेश गरेको देखिएपछि प्रहरीले तुरुन्तै अनुसन्धान सुरु गरेको थियो’, डिएसपी तिवारीले भने, ‘रडको प्रयोग गरेर ढोका र टेबल फुटाएको जस्तो देखिएको छ। हामीले बाङ्गिएको रडको टुक्रा पनि बरामद गरेका छौँ।’

प्रहरीले गरेको अनुसन्धानमा अभियुक्तले विगतदेखि नै विभिन्न अपराध गर्दै आएको पाइएको छ। दावाका विरुद्ध २०७३ जेठ ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा अभद्र व्यवहार मुद्दा, ०७३ भदौ १५ मा वडा प्रहरी कार्यालय रामबजार कास्कीमै अभद्र व्यवहार मुद्दा, ०७३ असोज ३० मा कास्की प्रहरीमा चोरी मुद्दा, ०७४ कात्तिक २१ मा कास्की प्रहरीमै लागुऔषध मुद्दा, ०७४ माघ १७ मा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा अभद्र व्यवहार मुद्दा, २०७५ असार २५ गते कास्कीमा लागुऔषध मुद्दा, ०७६ मङ्सिर २ मा कास्कीको बैदाम प्रहरीमा अभद्र व्यवहार मुद्दा लागेको थियो।

उनी २०७६ चैत ९ मा वडा प्रहरी कार्यालय बैदाम कास्कीमा लागुऔषध कसुरमा कारागार चलान भएकोमा गत फागुन २३ मा थुनामुक्त भएका थिए। अदालतमा हराएका कागजात वा अन्य सामग्रीको बारेमा अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए।