अमेरिकालाई रूसको धम्की : युक्रेनलाई हतियार दिए नराम्रो परिणाम भोग्नुपर्ने
एजेन्सी ।
मस्को : रूसले युक्रेनमा विदेशी हतियार लिएर जाने समूहलाई निशाना बनाउने चेतावनी दिएको छ। रूसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले युक्रेनमा हतियार पठाए अमेरिकाले ‘डरलाग्दो परिणाम’ भोग्ने चेतावनी दिए।
उनले युक्रेनमा विदेशी हतियार पुर्याउने समूह रूसी सशस्त्र बलको निशाना हुने बताए। उनले अमेरिका र पश्चिमा राष्ट्रविरुद्ध प्रतिशोधात्मक प्रतिबन्धको सूची तयार रहेको र यो छिट्टै सार्वजनिक गरिने बताए।
र्याबकोभले अमेरिका तयार हुन्छ भने रूसले अमेरिकासँग सुरक्षा वार्ता पुनः सुरु गर्न सक्ने बताए। स्थिति परिवर्तन भएकाले सुरक्षा ग्यारेन्टीसम्बन्धी रूसको प्रस्ताव पूर्णरूपमा कार्यान्वयन हुने उनले बताए। रूसी कमाण्डले युक्रेनविरुद्ध सैन्य सेवाको साटो सामुदायिक सेवा गर्ने श्रमिकका रूपमा भर्ना गर्ने सूची तयार गरेको युक्रेनी दाबी छ।
रूस र युक्रेनबीचको युद्ध १८ औँ दिन पनि जारी छ। अहिले रूसी सेना निकै आक्रामक बनेको छ। रूसी सेना निर्णायक आक्रमणका लागि तयारी गर्दै छ। युक्रेनी राष्ट्रपति भ्लोमोदिर जेलेन्स्कीले पश्चिमी देशबाट सैन्य सहायता र लडाकु विमान माग गरिरहेका छन्। अमेरिका होस् वा नाटो कोही पनि रूससँग ठोक्किन चाहँदैनन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना रूसको विरुद्ध नलड्ने बताइसकेका छन्।
बाइडेनले आफ्ना १२ हजार सैनिकलाई रूससँगको सीमामा लात्भिया, लिथुआनिया इस्टोनिया र रोमानिया जस्ता देशहरूमा पठाएका छन्। यद्यपि उनले युक्रेनमा विश्वयुद्ध लड्न नदिने कुरामा जोड दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























