माधव बेल्वासे । कपिलवस्तुमा हात्तीपाइले (फाइलेरिया) रोग निवारण गर्न १४ औँ चरणको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार यो पटक ६ लाख २० हजार ४ सय ९१ जनालाई औषधी खुवाइने लक्ष्य राखिएको जनाएको छ ।

फागुन २८ गते शनिवार देखि जिल्लाका दश वटै स्थानीय तहका स्वास्थ्य शाखा अन्तर्गत औषधी खुवाउने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । जिल्लामा गत आर्थिक वर्ष सम्म हात्तीपाइले भएका ४ सय ७२ जना रहेका थिए ।

जसमा खुट्टा सुन्निएको १ सय ८७, हाइड्रोशील भएका २ सय ८२ जना, हात तथा स्तन सुन्निएका ३ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा १ प्रतिशत भन्दा कम हुनु पर्ने तर यहाँ करिब साढे ८ प्रतिशतमा यो रोग रहेको प्रमुख पाण्डेको भनाई छ । जिल्लामा प्रत्येक वर्ष जाँच गर्दा करिब साढे ८ प्रतिशतमा यो प्रजिवि देखिएकोले औषधि खुवाउने कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाई छ ।

शिवराज नगरपालिकाले घरघरमा पुगेर औषधि खुवाउन तयारी गरेको स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईले बताउनुभयो । पहिलो दिन स्वास्थ्य चौकी,दोस्रो दिन सबै विद्यालयहरू तथा टोलहरू त्यसपछिका दिनहरू घरघरमा पुगेर औषधि खुवाइने उहाँले बताउनुभयो । औषधि प्रति भ्रम सूचना फैलिएका कारण हात्तीपाइले निवारणमा चुनौती भएको उहाँको बुझाई छ ।

यस वर्ष नागरिकहरूको सही सूचनाको लागि विभिन्न क्षेत्रलाई परिचालन गरेको बताउँदै औषधि ढुक्कका साथ प्रयोग गर्न आग्रह गर्नुभयो । शिवपुर स्वास्थ्य चौकीले हात्तीपाइले औषधि खानको लागि माइकिङको काम गरिरहेको इन्चार्ज लेखनाथ पौडेलले बताउनुभयो ।

सरकारले सन् २०३० सम्म यो रोग निवारण गर्ने लक्ष्य रहेको छ । दुई बर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी,छारे रोगका बिरामी,सिकिस्त विराम हरू औषधि सेवन नगर्न अनुरोध गरेको छ ।