राजेन्द्र खनाल, जितपुर

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ स्थित उत्तमनगरमा आफ्नै आमाले एक १२ वर्षीय छोरीको हत्या गरेको रहस्य खुलेको छ ।

छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमा सीता नेपालीलाई शसस्त्र प्रहरी व्यास क्याप्प पिपरा अगाडिबाट प्रहरीले प्रकाउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताएका छन । घटनाबारे थप गहन अनुसन्धान भईरहेको बताउँदै जतिसक्दो चाडो हत्या किन भयो भन्ने बारे भन्न सकिने कपिलवस्तु प्रहरीले जनाएको छ ।

घटनाको त्यो दिन…

सामान्य मध्यमवर्गीय परिवारमा बस्ने सीताले शुक्रबार बिहान आफ्ना ५ वर्षीय छोरालाई खाना खुवाएर घरमै छोडिन् । १२ वर्षीय छोरीलाई औषधी गर्न भन्दै छोरासँग घरबाट बिदा भएकी सीता साँझ सम्म घर फर्किनन् ।

उनका श्रीमान दैनिक बाणगंगा नदीमा गिट्टी, बालुवा चाल्न जाने गर्थे । मध्यान्न १२ बजे हरेक दिन सीता खाजा लिएर खोलामा जाने गर्थिन तर सो दिन उनी पुगिनन् । श्रीमती नआएपछि श्रीमान आफै घरमा आए र छोरासँग सोधे । आमा खोई ? छोराले जवाफ दिए, दिदीलाई औषधी गर्न जानुभएको छ । खाजा खाएर पुनः खोलामै मजदुरी गर्न फर्किएका श्रीमान साँझ घर आउँदा छोरी र श्रीमती दुबै आएका थिएनन् । त्यस पछि उनीहरु दुबैको खोजी सुरु भयो । सोधपुछ सुरु भयो । अन्ततः बाणगंगाको कोठी खोलाबाट १२ वर्षीय छोरीको शव लतारर्दै हिडेको अवस्थामा शशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको खबर थाहा भयो ।

बाणगंगा नगरपालिका वडा नम्बर १ मा शनिबार आयोजित एक कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी अधिकारी पन्तले घटनाको एक अंश सुनाएपछि हामीले यस घटनाका विषयमा थप जानकारी लिने प्रयास गरेका थियौँ । वडा अध्यक्ष पन्तका अनुसार आरोपित सिता नेपालीको माइती घर रुपन्देहीको रुद्रपुरमा हो । उनी दोस्रो बिवाह गरि उत्तमनगरमा बस्दै आएकी थिइन् । पहिलो बिवाह एक रेश्मी थर गरेका व्यक्तिसँग गरेकी सीताले हत्या गरिएकी १२ वर्षीय छोरीलाई पहिलो घरमै जन्माएर बाणगंगाका प्रेमबहादुर नेपालीसँग ल्याएकी थिइन् । मृतक १२ वर्षीय बालिका हाल कपिलवस्तु प्राथामिक विद्यालयमा कक्षा ५ मा अध्ययन गर्दै थिइन् । उनको पढाई उत्कृष्ट थियो । पारिवारीक सम्बन्ध परिवारमा सबैको राम्रै चलेको थियो । उनका श्रीमान प्रेमबहादुर नेपाली र श्रीमती सीताको सम्बन्ध पनि राम्रै चलेको थियो । तर आफैले जन्माएकी छोरीको आमाले किन हत्या गरिन भन्ने आश्चर्यको विषय बनेको छ ।

उनले अध्ययन गर्ने विद्यालयका शिक्षकहरुका अनुसार उनी अत्यन्त राम्रो नतिजाका साथ उत्तीर्ण हुने विद्यार्थी थिइन्। उनका बाबु प्रेमबहादुर नेपाली सोही विद्यालयमा विद्यालय व्यवस्थान समितिको सदस्य समेत रहेका छन् । मृतक बालिका स्थानीय बाल क्वलको सचिव समेत रहेर काम गरेकी थिइन् । उनी अध्ययनको क्रममा केही समय अघि एक महिना विद्यालयमा अनुपस्थित पनि भएकी थिइन् । आमाले मदिरा सेवन गर्ने गरेको उनले विद्यालयका शिक्षकहरुसँग बताउने गर्थीन् ।

यता बालिकाको मृत्यु पछि शव व्यवस्थापन गर्न स्थानीसँग सोधपुछ गरिरहेकी आमा सीतालाई शशस्त्र प्रहरी पिपराको चेकपोष्टमा रहेका प्रहरीले नियन्त्रणमा लिएका थिए । शशस्त्र प्रहरी बल पिपराका शशस्त्र प्रहरी निरीक्षक मणी कुमार पल्ली मगरका अनुसार बालिकाको शव घिसार्दै ल्याएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीको टोलीले महिलालाई नियन्त्रणमा लिएको थियो । हाल उनीबिरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक ( डिएसपी) धर्मराज भण्डारीका अनुसार शनिबार अपराहन्न आरोपित महिलाले आफुले हत्या गरेको भनि बयान दिएको र घटना स्थलमा थप अनुसन्धानका लागि प्रहरी पुगेको बताएका छन् । घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने उनले बताए । लुम्बिनी दर्पण साप्ताहिकमा प्रकाशित