पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति
महोत्तरी । मटिहानी नगरपालिका–८ स्थित बजारमा आगलागी हुँदा करिब डेढ करोड रूपैयाँ बराबरको क्षति भएको छ।
जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी-७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा शनिवार बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको २५ लाख रूपैयाँ बराबरको सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
उक्त पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु डेढ करोड बराबरको धनमाल क्षति भएको उनले बताए।
मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























