कृष्णनगरका २ वटा वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिने
कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा २ वटा वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । पुर्व राज्य मन्त्री सुरेन्द्रराज आचार्यले नवनिर्मित वडा नं. ८ र ९ कार्यालय भवनको उद्घाटन नगरपालिकाले जनाएको छ ।
वडा कार्यालय भवनको उद्घाटन गर्दै पुर्व राज्यमन्त्री आचार्यले आगामी स्थानीय तहको चुनावमा कृष्णनगर क्षेत्र नेपाली काँग्रेसमय हुने दाबी गर्नुभएको छ । उहाँले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह गरेकोले जनतालाई सहज हुने भन्दै धन्यवादसमेत व्यक्त गर्नुभयो ।
यस्तै कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले विगतका वर्षमा नगरपालिकाले निर्माण गरेका धेरै कामहरु सम्पन्न गरिएको बताउँदै आगामी दिनमा आफु नगरको जनप्रतिनिधि भए पनि, नभए पनि नगर विकासको निम्ति निरन्तर लाग्ने जिकिर गर्नुभयो । उहाँले अब वडा कार्यालयको हरेक कार्यको सम्पादन र व्यवस्थित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस कृष्णनगर नगर सभापति तथा कृष्णनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष देवान्नद शुक्लाले समग्र नगर विकास कामको जानकारी दिँदै आउने चुनावमा पुरानै जनप्रतिनिधिकै जीत हुने दाबी गर्नुभयो । आफुहरु पहिलो पटक निर्वाचित भएर आएपछि अधिकांश समय सिकाईमै विते पनि नगरपालिका वडा उदाहरणीय कार्य गर्न सफल भएको उहाँले बताउनुभयो ।
कृष्णनगर नगरपालिका ८, ९ बहादुरगञ्जमा निर्माण गरिएको सो भवनमा ७५ लाख ८३ हजार ४ सय ७५ रूपैयाँ खर्च भएको इन्जिनियर प्रदिप चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























