लमजुङ – लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ । यस सडक खण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेसीसहर चामे सडक योजना कार्यालयका सबइन्जिनियर हरि श्रेष्ठले बताउनुभयो ।

मनाङको नासोँ गाउँपालिका वडा नं ९ मा रहेकाे तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो । त्यहाँ गएकाे असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गएकाे कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो । त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आउँदाे बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण सुरु गर्न लागेको उहाँको भनाइ छ ।

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप २०५१ सालबाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेसीसहर चामे सडक निर्माण अघि बढाएको थियो । याे सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।