काठमाडौं : सवारी दुर्घटनामा काठमाडौंमा २ जनासहित देशभर ९ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ६ बजेतिर बसले किच्दा दुईजनाको मृत्यु भएको बालाजु प्रहरी वित्त प्रमुख डिएसपी गौतम मिश्रले जानकारी दिए। मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी करिब ५० वर्षीया महिला छन्।

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो। ठक्करपछि मिनी बससहित चालक फरार भएका छन्।

बसको नम्बर खुल्न सकेको छैन। घटनाबारे महानगरीय प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ।

यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ स्थित सडकमा रा.१ त १५६३ नम्बरको ट्याक्टर गिट्टी उठाएर ब्याक गर्ने क्रममा पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा गिट्टी उठाउने काम गर्ने सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम परियारको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी अछामको रामारोशन गाउँपालिका-५ स्थित सडकमा सुदूर पश्चिम प्रदेश ०१-००२ त ५१७० नम्बरको ट्याक्टरले किच्दा सोही ठाउँ बस्ने अम्मरबहादुर साउदका छोरा ९ महिनाको खेमराज साउदको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै हुम्लाको ताजाकोट गाउँपालिका-२ कवाडी बजारस्थित सडकमा कर्णाली प्र-०२००१ ज ००४५ नम्बरको बोलेरो जिपको ठक्करबाट सोही गाउँपालिका-२ मैला बस्ने सुर्जवीर लुहारको छोरा अन्दाजी ६ वर्षीय मनीष लुहारको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-१३ स्थित सडकमा से.५ प ३९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-५ बस्ने ३१ वर्षीय दलबहादुर भट्टराईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी सिन्धुलीको सुनकोशी गाउँपालिका-१ देवीस्थानस्थित सडकमा प्र.३-०१-००३ क ५२५८ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय टीकाराम शिवभक्तिको बुधबार साँझ मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै पाल्पाको रामपुर नगरपालिका-४ स्लामपुरस्थित सडकमा प्रदेश ३-०२-००८ प २९८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-४ भिमसेन टोल बस्ने ४२ वर्षीय प्रेमबहादुर सार्कीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामपुर नगरपालिका-५ बेझाड बस्ने ३५ वर्षीय जीवन श्रेष्ठलाई सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ।

यसैगरी महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरस्थित सडकमा स.१ च १३९३ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्री गौशाला नगरपालिका-११ बस्ने ३५ वर्षीय तेजनारायण महतोको बुधबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।