काठमाण्डाै – टेलिकमको तार चाेर्ने गिरोहका पाँच जना काठमाण्डाैबाट पक्राउ परेका छन् । काठमाण्डाैकाे तारकेश्वर नगरपालिका ६ काे लाेलाङ हाइटमा पाेलमा राखिँदै गरेकाे टेलिकमकाे तार चाेर्ने बझाङका प्रेमबहादुर बाेहरा, कैलालीका नरेश बुढा र गाेविन्द साउँद, गाेरखाका राजन घले, काभ्रेका प्रविन कार्की पक्राउ परेका प्रहरीले जनाएकाे छ ।

हिजाे शनिवार तार चाेरी भएपछि महानगरीय प्रहरी वृत्त बालाजु र महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तारकेश्वरकाे धर्मस्थली महाकाल मन्दिर नजिकबाट पक्राउ गरेकाे हाे ।

चाेरेकाे तार प्र.३.–०१–०२३ च.४३०१ नम्बरकाे पिकअप भ्यानमा राखेर मन्दिर नजिककाे भित्री शाखा सडक खण्डको जङ्गलतर्फ गइरहेकाे अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेकाे महानगरीय प्रहरी वृत्त बालाजुले जनाएकाे छ । उनीहरूकाे साथबाट तार काट्न प्रयोग गरिने विभिन्न औजार, एउटा तारमा ५० वटा लाइन जडान गर्न मिल्ने कालो टेलिफोन तार १४ मिटर र एउटा तारमा १०० वटा लाइन जडान गर्न मिल्ने कालो टेलिफोन तार १०० मिटर बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।