कपिलवस्तुमा सवारी दुर्घटना भयावह बन्दै
कपिलवस्तु ।
पछिल्लो समय कपिलवस्तु सहित लुम्बिनी प्रदेशमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेहरुको संख्या बढेको छ । सडक विस्तार नहुनु र सवारी साधनको चाप भने बृद्धी हुदा प्रदेशका विभिन्न जिल्लामा दिनहुँजसो सवारी दुर्घटनामा परि कैयौँले अकालमै ज्यान गुमाईरहेका छन् ।
यता कपिलवस्तु जिल्लामा पनि पुर्व पश्चिम मुख्य राजमार्ग देखि अन्य भित्रि सडकहरुमा हुने सवारी दुर्घटना र त्यसमा परी ज्यान गुमाउनेहरुको तथ्याङ्क हेर्दा डरलाग्दो छ । अझ विशेषगरी मुख्य राजमार्गमै सवारी दुर्घटनामा परि धेरैले ज्यान गुमाउने गरेका छन्। त्यसमा पनि मोटरसाईकल दुर्घटना अझ डरलाग्दो देखिएको छ ।
कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षको असार मसान्त देखि पुष मसान्त सम्मको ६ महिनाको अवधिमा सवारी दुर्घटनामा परि कुल ३६ जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको तथ्याङ्कले देखाएको छ । त्यस मध्ये पनि सबै भन्दा बढी मोटरसाईकल दुर्घटना भएका छन भने मोटर साईकल दुर्घटनामा परी जिल्लाभर कुल ४४ जनाले ज्यान गुमाएका छन् ।
कपिलवस्तुमा चालु आर्थिक वर्षको साउन महिनामा कुल १६ वटा सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन भने त्यस मध्ये सबैभन्दा बढी ७ वटा मोटरसाईकल दुर्घटनामा परेका छन् । त्यस्तै भदौमा पनि ७ जनाको ज्यान जानेगरी भएका सवारी दुर्घटनामा १३ वटा मोटरसाईकल सहित २३ वटा सवारी दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । असोज, कात्तिक र मंसिर महिनामा कपिलवस्तुका विभिन्न स्थानमा गरी समान १३÷१३ सवारी दुर्घटनामा परेका छन् । त्यस मध्ये क्रमश ४, ६ र ६ जनाको दुर्घटनामा परि ज्यान गएको छ । यस्तै पुष महिनामा कपिलवस्तुमा १० वटा सवारी साधन दुर्घटनामा पर्दा ६ जनाले ज्यान गुमाएका छन् ।
कपिलवस्तुमा पछिल्लो ६ महिनाको अवधिमा भएका विभिन्न ८८ वटा सवारी दुर्घटनामा परि महिलाको तुलनामा पुरुषले बढी ज्यान गुमाएका छन् । त्यसमा पनि मोटर साईकल दुर्घटनामा परि दुई महिलाको मृत्यु हुँदा २७ पुरुषले ज्यान गुमाएका छन् । यो ६ महिनाको अवधिमा ४४ वटा मोटरसाईकल दुर्घटनामा परेको तथ्याङ्क छ भने ट्रक ट्याङ्कर १०, टिपर २, बस ९, माइक्रो १, कार जिप ७, ट्याक्टर ६, अटो १, साइकल सवार २ र अन्य ६ सवारी दुर्घटनामा परेका हुन ।
अन्य विभिन्न सवारी साधन दुर्घटनाको अवस्था केही कम देखिएको भए पनि कपिलवस्तुमा मोटरसाइकल दुर्घटनाको अवस्था भने डरलाग्दो अवस्थामा छ भने मोटर साईकल दुर्घटनामा ज्यान गुमाने र घाइते हुनेको अवस्था पनि उस्तै भयावह छ । पछिल्लो ६ महिनाको अवधिमा कलिवस्तुमा सवारी दुर्घटनामा पनि ३९ जना पुरुष र ४ जना महिला, दुई जना बाल र एक बालिका गरी कुल ४६ जना गम्भिर घाइते भएका थिए । यस्तै यही समयमा दुर्घटनामा परी सामान्य घाइते हुनेहरुको अवस्था पनि उस्तै छ । कपिलवस्तुमा भएका सवारी दुर्घटनामा परि कुल ५४ जना मानिस सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























