काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई क्रान्तिकारी बनाउन जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार रहेको बताएका छन् ।

कमलादीस्थित प्रज्ञाभवनमा जारी ८औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताउदै भने, ‘यो पार्टीलाई क्रान्तिकारी बनाउन जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

त्यस्तै कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला ? भनेर प्रश्न गरेको बताउँदै उनले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ।’

यसका साथै अध्यक्ष दाहालले माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको र आवश्यक पर्दा आफनै टाउकोमा आगो लगाएर हिँड्न तयार रहेको समेत बताए ।