नेकपा माओवादी केन्द्रले यही पुस ११ देखि गर्न लागेको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रवक्ता कृष्णबहादुर महाराको उपस्थितिमा सार्वजनिक गरिएको लोगोमा प्रचण्डलाई केन्द्रविन्दुमा राखिएको छ।

माओवादीले राष्ट्रिय सम्मेलनको नारा पनि ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि’ तय गरेको छ।

लोगोमा सबैभन्दा माथि माओवादीले विश्व कम्युनिष्ट नेताहरुको फोटो राखेको छ। जसमा कार्ल मार्क्स, एङ्गेल्स, लेलिन, स्टालिन र मा ओत्स्तेतुङको फोटो राखिएको छ।

त्यससँगै चराहरु उडिरहेको कुरालाई पनि माओवादीले आफ्नो लोगोमा समेटेको छ।

त्यसपछि महिला तथा पुरुषहरूले रातो र सेतो रंगमा सजाइएका कम्युनिष्ट पार्टीको झण्डा बोकेर फहराइरहेको देख्न सकिन्छ।

त्योभन्दा तल प्रचण्डको फोटोलाई ठूलो आकारमा सजाइएको छ। प्रचण्डको फोटोभन्दा तल विभिन्न सम्पदाहरू र मन्दिरको आकृति बनाएर काठमाडौंलाई देखाउन खोजिएको छ।

यसअघि चितवनमा भएको नेकपा एमालेको महाधिवेशनमा गैँडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको लोगो बनाइएको थियो।

कांग्रेसले भने भृकुटीमण्डपमा भएको चौधौं महाधिवेशनमा एकजना महिलाले चारतारे झण्डा र पुरुषले नेपालको झण्डा बोकेको आकृतिलाई लोगोका रुपमा प्रयोग गरेको थियो।